हेटौंडा–हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी) लाई दिए एकल उम्मेद्वार खडा गर्ने काँग्रेस हेटौंडा नगरले चेतावनी दिएको छ । हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी) लाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको हो ।

स्थानीय तह निर्वाचनमा हेटौंडा नगर प्रमुखको टिकट नेकपा (एस) लाई दिने निर्णय सच्याउन हेटौंडा नगर कार्य समितिले केन्द्रीय नेतृत्व र गठबन्धनलाई ध्यानाकर्षण गरेको छ ।

५ दलीय गठबन्धनमा नेपाली कांग्रेस केन्द्रीय समिति र गठबन्धन नेतृत्व बैठकले गरेको सहमतिप्रति असहमति जनाउँदै निर्णय सच्याउन ध्यानाकर्षण गरिएको हो । पत्रकार सम्मेलनमा गठबन्धन दलबीच हेटौंडा उपमहानगर मेयरमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेद्वारी रहने निर्णय भएकोप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले ध्यानाकर्षण भएको जनाएको हो ।

बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे नगरका १९ वटै वडाका सभापतिको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरुसँग मित्रवत् प्रतिस्पर्धाका आधारमा एकल उम्मेद्वार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो । नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफूहरुसँग केन्द्रले छलफल गरेको बताए ।

‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका सबै वडा सभापतिको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत् प्रतिस्पर्धाका आधारमा कांग्रेस एकल नेतृत्वमा चुनाबी प्रतिस्पर्धामा सहभागी हुनेछ,’ उनले भने–गठबन्धन दलहरुबीच भागबण्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौंडाको बस्तुगत अवस्थाबारे जानकारी नलिइ कार्यकर्ताको मर्म र भावना बेवास्ता गर्दै गरेको सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ ।

उनले मतभारलाई मध्यनजर नगरी कांग्रेसलाई नगर प्रमुखको टिकट नदिए गठबन्धनको निर्णय नमान्ने उद्घोष गरेका छन् । इटेनीले निर्णय सच्चिनेमा आफू आशावादी रहेको बताए । सत्तारुढ दलको सहमतिअनुसार हेटौंडा नगर प्रमुख नेकपा (एस) र उपप्रमुख कांग्रेसलाई दिने लगभग सहमति भइसकेको बुझिएको छ । हेटौंडाको मेयरमा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष तथा वर्तमान उपमेयर मीनाकुमारी लामाको नाम सिफारिस भएको छ । मेयरमा पोखरेलको सम्भावना बढी छ ।

कांग्रेस कार्यकर्ताले हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनको निर्णयको विरोधमा मकवानपुरमा दबाबमूलक कार्यक्रम थालिसकेका छन् । केन्द्रीय निर्णयको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

हेटौंडा–२ स्थित जिल्ला पार्टी कार्यालयमा उपमहानगर समितिका पदाधिकारीसहित १९ वटै वडा सभापतिको बैठक चल्दै गर्दा तरुण दल अध्यक्ष सुनिल गिरीको नेतृत्वमा कांग्रेसी कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

पार्टी कार्यालयमा ताल्चा झुन्ड्याइएको कुरा जिल्ला सभापति बुद्ध लामासम्म पुग्यो । त्यसपछि दौडिँदै कार्यालयतर्फ हनिएका उनी आइपुग्दा तालाबन्दी भइसकेको थियो । सभापति लामालाई त्यतिबेला रिसको पारो चढ्यो, जब उनले आफ्नो कार्यकक्षमा ताला देखे ।

आक्रोशित भएका लामा आफैं ताला तोड्न कस्सिए । ताला तोड्दै उनले पार्टी कार्यालयमा तालाबन्दी गर्दासमेत केही नबोलेको भन्दै त्यहाँ रहेका कार्यकर्तालाई गाली गर्न थाले । कार्यालयमा बसेका कार्यकर्तातर्फ औंलो ते¥याउँदै उनले भने–तिमीहरु हिंजडा हौ । अब पार्टी कार्यालय आउनुपर्दैन, यहाँ बस्नु पनि पर्दैन ।

नेकपा (एकीकृत समाजवादी) मकवानपुरले मकवानपुरमा ६ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ । सोमबार पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भुगोल इञ्चार्जहरुले ६ स्थानीय तहमा मेयर र अध्यक्ष पाउनुपर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी पनि गरे ।

पार्टी संगठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, इन्द्रसरोवर र हेटौंडा उपमहानगरपालिकामा अध्यक्ष र मेयर पाउनुपर्ने गरी गठबन्धनमा छलफल गर्न इञ्चार्जहरुले बैठकमा रिपोर्टिङ गरेका थिए ।

हेटौंडा उपमहानगरमा मेयरसहित ५ वटा वडामा समाजवादीले दाबी गर्नुपर्ने नेताहरुको भनाइ थियो । गठबन्धनमा जाँदा पनि मेयरसहित ५ वटा वडामा दाबी रहेको पार्टी उपाध्यक्ष एवम् हेटौंडा पार्टी इञ्चार्ज ध्रुव भुजेलले बताए ।

राक्सिराङ इञ्चार्ज कृष्णबहादुर चेपाङ र मनहरी इञ्चार्ज भूमिनन्द अर्यालले दुवै भुगोलमा गठबन्धनमा सम्मानजनक सहभागिता नभए एक्लै उठ्न पनि पार्टीपंक्ति तयार रहेको बताए । कैलाश इञ्चार्ज कालु ढकाल र इन्द्रसरोवर इञ्चार्ज कुन्साङ लामाले पनि अध्यक्षसहित केही वडामा सम्मानजनक हिसाबले गठबन्धन हुनुपर्ने बताए । पछिल्लो समय पार्टी संगठन सुदृढ भएकाले भीमफेदीमा पनि अध्यक्षको दाबी गर्ने आधार भएको रिपोर्टिङ थियो इञ्चार्ज शिवहरि बर्तौलाको ।

उत्तरी थाहा नगरपालिका र वागमती गाउँपालिकामा मात्र समाजवादीले तत्काल अध्यक्ष, उपाध्यक्ष वा मेयर÷उपमेयरमा दाबी गरेको छैन । बैठकमा रिपोर्टिङ गर्ने इञ्चार्जहरुले गठबन्धनसँग लिनुपर्दा कम्तिमा लिनुपर्ने वडामा ३९ वटा वडा माग गर्न आग्रह गरेका थिए । ती वडाहरुमा समाजवादीको पकड रहेको इञ्चार्जहरुको दाबी थियो ।

सक्रिय बन्नुहोस्
नेकपा (एकीकृत समाजवादीं) स्थायी कमिटी सदस्य तथा मकवानपुर इञ्चार्ज ललित बस्नेतले नेतृत्वपंक्तिलाई अरु सक्रिय भएर पार्टी निर्माण र उम्मेद्वार जिताउने अभियानमा लाग्न निर्देशन दिए । बैठकमा बस्नेतले पार्टी निर्माण भएको र सबल हुँदै गएकाले निर्वाचनका बेला भएकाले अरु सक्रिय हुनुपर्ने बताए । उनले भने–यो सक्रिय हुने बेला हो । एमालेले गरेको विभेद, अत्याचारविरुद्ध जनतामा जानुहोस् र गठबन्धनका राम्रा कुरा गरेर जनताको मन जित्नुहोस् ।

बैठकमा केन्द्रीय सदस्यहरु धनप्रसाद गौतम, राजाराम स्यांतान र सूर्यचन्द्र न्यौपानेले केपी ओली प्रवृत्तिविरुद्ध पार्टी गठन अभियानसँगै मकवानपुरमा पार्टी निर्माणमा संलग्न सबैप्रति आभार व्यक्त गर्दै गठबन्धनलाई इमान्दारितासाथ जोगाएर पार्टीका नेता÷कार्यकर्तालाई विजित गराउनुपर्ने दायित्व नभुल्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here