सुनिता बिष्ट

हेटौंडा–स्थानीय तहको निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै दशकै माहोल राजनीतिमय बनेको छ । बाटो, चोकचौतारोमा कुन पार्टीका कसले जित्लान् भन्ने चर्चा चल्न थालेको छ । मकवानपुर जिल्लामा अन्य स्थानीय तहमा चर्चा परिचर्चा नहुने त होइनन्, तर सबैभन्दा धेरै चर्चा हेटौंडा उपमहानगरपालिकाको छ । हेटौंडा वागमती प्रदेशको राजधानीसमेत रहेका कारण पनि सबैको चासोको विषय बनेको छ ।

अबको ५ वर्षे कार्यकालका लागि हेटौंडाले कुन राजनीतिक दलबाट को स्थानीय सरकार पाउला भन्ने पनि चासोको विषय बनेको छ । आसन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगर मेयरमा नेकपा एमाले र सत्तारुढ गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । हेटौंडाका मेयरमा एमालेबाट संविधानसभा सदस्य अनन्त पौडेल उम्मेद्वार छन् भने सत्तारुढ गठबन्धनले मीनाकुमारी लामालाई उम्मेद्वार बनाएको छ ।

हेटौंडामा आफ्नो विरासत जोगन सफल रहेको नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा के गर्ला भन्ने पनि चर्चाको विषय बनिरहेको छ । पाँच राजनीतिक दलहरु एक हुँदासमेत एमालेको विरासत भत्केला कि भन्ने अवस्था आइसकेको बेला अचानक राप्रपाबाट दीपक सिंहको इन्ट्रीले नयाँ मोड ल्याएको छ । एमालेलाई आफ्नो तीन दशकदेखिको विरासत जोगाउन चुनौती थपिएको छ । लामा र पौडेलको चर्चा परिचर्चा भइरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सिंहको पनि पछिल्लो समय उच्च चर्चा चलेको छ । स्थानीय तथा संसदीय निर्वाचनमा तीन पटक पराजित भइसकेका सिंह यसपटक जसरी भए पनि जित्ने उद्धेश्यसाथ मैदानमा उत्रिएका छन् । सिंहले राप्रपाबाट हेटौंडाको मेयरमा आफ्नो उम्मेद्वारी दर्ता गराएपछि हेटौंडाको राजनीतिक माहोल तातिएको छ ।

नेकपा एमाले ठूलो शक्तिका रुपमा रहँदै आएको हेटौंडामा यस पटक एमालेले प्रभावशाली नेता तथा संविधानसभा सदस्य पौडेललाई मेयर तथा सुमित्रा काफ्लेलाई उपमेयर उम्मेद्वार बनाएको छ । आसन्न स्थानीय तह निर्वाचनमा बलियो संगठन रहेको एमाले नै हेटौंडाको प्रमुख प्रतिस्पर्धीको रुपमा उभिएको देखिन्छ । त्यसो त, आसन्न निर्वाचनमा नेकपा एमालेले हेटौंडामा आफ्नो विरासत जोगाउन नसक्ने पो हो कि भन्ने चर्चा हुन थालेको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनको प्रभाव कममात्र पर्ला भन्ने सोचेको एमालेलाई राप्रपाबाट सिंहले उम्मेद्वारी दर्ता गराएपछि एमालेमा तरंग पैदा भएको छ । हेटौंडाको मात्र नभएर जिल्लाकै ठूलो शक्ति बनेको एमालेले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्नो विरासत जोगाउन चुनौती नै देखिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर÷उपमेयरसहित १९ वटा वडामध्ये १२ वटामा एमालेले जितेको थियो । अन्य ७ वटामध्ये ५ वटामा कांग्रेस र २ वटामा माओवादी केन्द्रले जितेका थिए । माओवादी केन्द्रले जितेका २ वटा वडामध्ये एउटा वडाका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् भने एमालेका एक वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भएका छन् । २०७० को स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर र उपमेयरमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । उक्त निर्वाचनमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेका थिए ।

निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै एमालेले जित हात पारेको थियो । हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महतले जितेका थिए । महतले २३ हजार १ सय २४ मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत ल्याएका थिए । हेटौंडाको उपमेयरमा एमालेकी मीनाकुमार लामाले माओवादी केन्द्रका बलराम बललाई हराएकी थिइन् । लामाले २३ हजार ४ सय ३७ मत ल्याउँदा बलले १७ हजार ११ मत ल्याएका थिए ।

एमाले छाडेर एकीकृत समाजवादी रोजेकी लामाका लागि एमाले मुख्य प्रतिस्पर्धी हो । गठबन्धनभित्र कांग्रेस बलियो र एकीकृत समाजवादी नयाँ शक्ति हो । माओवादी केन्द्र जिल्लाको तेस्रो शक्ति हो । मेयर जित्न करिब ३० हजार बढी मत ल्याउनुपर्ने आँकलन छ । यसअघि कांग्रेस, माओवादी केन्द्र मिलेको अवस्थामा दुई दलीय गठबन्धनसँग २२ हजार ५ सय ९ मत थियो । हाल पाँच दल मिल्दा ३५ हजारमाथि मत पुग्ने गठबन्धनको दाबी छ । गठबन्धन दलका मदतदाताले साथ दिए जित सुनिश्चित रहेको दाबी छ । तर, एमालेले यसअघि एकल २३ हजार १ सय २४ मत ल्याएको थियो ।

एमालेबाट हेटौंडाको मेयरमा उम्मेद्वारी दिएका पौडेल हाल राजनीतिक दलको गठबन्धनसँग जनता वाक्क भएर एमालेलाई नै मत दिनेमा विश्वस्त रहेको बताउँछन् । ’गठबन्धनले केन्द्रीय तहको सरकारमा पनि अस्थिरता ल्यायो । यो गठबन्धनले प्रदेश तहको सरकारमा पनि अस्थिरता ल्यायो । र, यो अस्थिरताले मुलुकलाई केही पनि दिन सकेन । यस पटकको स्थानीय तह निर्वाचनमा पनि १५ वर्षदेखिको विरासत कायम राख्ने बताउँदै पौडेलले भने–यो अस्थिरताले थप महंगी, थप शोषण, थप उत्पीडन दियो र मुलुकलाई टाट पल्टाउने परिस्थिति निम्त्याएको । त्यसले गर्दा अब यो केन्द्र र प्रदेशमा भइरहेको अस्थिरतालाई स्थानीय तहमा पनि सार्ने प्रयास भइरहेको छ । यो मुलुकका लागि कलंकको विषय हो । हामीले जनतालाई बुझाउन सक्यौं भने गठबन्धनलाई हामी हराउन सक्छौं । जनतालाई महसुस गराउन हामीले सक्नुप¥यो । यति भयो भने गठबन्धनसँग एमालेलाई चुनाव जित्न चुनौती हुने छैन । हामीले सजिलै जित हासिल गरेर विरासत जोगाउन सक्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here