‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

निशा गुरुङ

हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निशाना बनाएका छन् । चुनाव घोषणापछि उनी भोट माग्न दोस्रो पटक हेटौंडा आएका हुन् ।

केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेद्वार खडा गर्ने निर्णय गराएर लिङ्देन २२ फागुनदेखि देश दौडाहामा निस्किएका हुन् ।

उनले आइतबार आयोजित सभामा आफूले एक रुपियाँ कतै भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिन तयार रहेको बताए । ‘देश विकास गर्न कांग्रेस, एमाले र माओवादीले पटकपटक मौका पाए तर देशको भविष्य अन्धकारमात्र बनाए । भोट नोटमा होइन अब सक्षम व्यक्तिलाई बुझेर दिनुपर्छ,’ लिङ्देनले भने । उनले राप्रपाले यसबाट भोट मागेको तर अर्को चुनावमा राप्रपाले मत नमागी जनताले राप्रपाको कामले मत दिने ठोकुवा गरे । ‘अब कति पटक कांग्रेस, माओवादी र एमालेलाई भोट दिएपछि देश बन्छ,’ उनले प्रश्न गरे–एक पटक राप्रपालाई भोट दिनुहोस् । अर्को पटकदेखि हाम्रो कामले भोट माग्नेछ ।

निर्वाचनमा भोट दिनु भनेको उमेर पुगेको छोरीलाई विवाह गरेर दिनुभन्दा पनि ठूलो र सकस भएको बताए । उनले निर्वाचनमा भोट दिनु भनेको उमेर पुगेको छोरीलाई विवाह गरेर दिनुभन्दा पनि ठूलो भएको र जसरी नबुझी विवाह गर्दा छोरीको घर बिग्रनसक्छ, त्यसरी नबुझी र नचिनेर भोट हाल्दा देश बिग्रन्छ भन्ने कुरा उद्घोष गरे ।

उनले कांग्रेसको १४ औ महाधिवेशनमा आफूले राखेको मन्तव्यको स्मरण गर्दै नेपालका ठूला राजनीतिक दलका सुध्रन नसकेको स्पष्ट पारे । उनले देश सुधार्नका लागि राप्रपामात्र होइन, कांग्रेस, एमाले, माओवादी पनि सुध्रनुपर्ने बताए ।

कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रुपमा पुगेका लिङ्देनले ‘संसद् संसद्जस्तो छैन, अदालत अदालतजस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो । राजनीति ठीक छैन । राजनीतिलाई ठीक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ,’ भनेर मन्तव्य दिएका थिए ।

अध्यक्ष लिङ्देनले भ्रष्टाचार नगरी, कमिसन नखाइ कसरी स्थानीय तहको विकास हुन्छ भनेर हेर्नका लागि यस पटक राप्रपालाई विजयी बनाउन अनुरोध गरे । उनले भने–तपार्इंहरुले यस पटक हेटौंडामा राप्रपालाई जिताउनुभयो भने भ्रष्टाचार नगरी, कमिसन नखाइ विकास भएको देख्नुहुनेछ । यो हाम्रो प्रतिवद्धता भयो । राप्रपाले जितेको स्थानीय तह कस्तो हुँदो रहेछ भनेर हेर्न देशभरका मानिस हेटौंडा आउने बनाउँछांै ।

देशमा कम्युनिष्ट र कांग्रेसले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै राप्रपाले भ्रष्टाचार उन्मूलनको महान् उद्धेश्य बोकेको भन्दै उनले थपे–हामीलाई थाहा छ, एमाले, कांग्रेस र माओवादीले प्रोत्साहन गरेको भ्रष्टाचार उन्मूलन सहज छैन । तर, एकदिन राप्रपाले यो काम अवश्य गर्ने छ, म विश्वस्त छु ।

अध्यक्ष लिङ्देनले यस पटकको निर्वाचनमा एमाले–कांग्रेस–माओवादीको बाकस खाली गर्न अनुरोध गरे । वर्षौदेखि सत्ताको स्वाद चाखेका यी दलहरुको बाकस खाली नगरेसम्म नेपालमा भ्रष्टाचार अन्त्य नहुने र देशले विकासको मुल फुटाउन नसक्ने उनले बताए ।

उनले भने–त्यसो गर्न सकियो भने उनीहरुको अघि दुई वटा विकल्प हुन्छ, कि मैदान छाडेर हिँड्नुपर्छ कि त सच्चिनुपर्छ । देश विकासका लागि राप्रपामात्र सच्चिएर नहुने भएकाले यी सबैलाई सुधार गर्नुपर्ने लिङ्देनको भनाइ छ ।

केही छाक टरेको भरमा, केही लिटर पेट्रोल भरेको भरमा ती दललाई मत नहाल्न भन्दै उनले भोट ख्यालख्याल र लहैलहैमा नदिन आग्रह गरे । आफ्नो जीवनकालमा देश बनेको देख्न चाहने एमाले, कांग्रेस र माओवादी कार्यकर्ताले एकपटक राप्रपालाई साथ दिनुपर्ने भन्दै उनले देश सुधार्ने काम राप्रपाले मात्र गर्नसक्ने दाबी गरे ।

‘जनता मालिक हुने भनेको पाँच वर्षमा एक दिन एक क्षण हो,’ लिङ्देनले भने–त्यस बेलामा गर्ने निर्णयले ठूला भनिएकालाई धुलो चटाउन सकिन्छ, राम्रा काम गर्ने मान्छेहरुलाई सत्तामा पु¥याउन सकिन्छ ।

राप्रपा केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौंडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिहरुले डोजर र जग्गा प्लटिङको मात्र विकास गरेको टिप्पणी गरे । सभामा उनले आफूले हेटौंडामा स्वास्थ्यको समस्या धेरै समयअघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्या समाधानका लागि पहल गर्न नसकेको आरोप लगाए ।

उनले आफूलाई हेटौंडा अस्पतालमा एमआरआई र सिटीस्क्यानसमेत नहुने जानकारी आएको बताए । उनले वागमती प्रदेशको राजधानी भएर पनि यहाँका जनप्रतिनिधिहरुले अस्पतालको विकास गर्न नसकेको तर आफ्नाको लागि भने डोजर र प्लटिङको विकास गर्नसकेको देखेको बताए ।

उनले हेटौंडाको मेयर उम्मेद्वार दीपकबहादुर सिंह उठाइएको भन्दै सिंहको सक्षम टिमलाई जिताउन अनुरोध गरे । उनले राप्रपाका उम्मेद्वार भ्रष्टाचार र मूल्यवृद्धिविरुद्ध रहेको भन्दै आफ्ना उम्मेद्वारलाई विजयी बनाउन आग्रह गरे ।

तामाङले कालेकाले मिलेर खाउँ भाले भनेजस्तै ठूला दलहरु मिलेर देशलाई खोक्रो बनाएको बताए । ‘भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध देश विकासका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म राप्रपाको नेतृत्व आवश्यक छ,’ उनले भने–हामीले जितका स्थानीय तहमा घरघरमा सरकारको काम पु¥याउनेछौं ।

मेयर उम्मेद्वार सिंहले आफूलाई हेटौंडाको मेयरमा जिताउन अपिल गरे। हुप्रचौरमा भएको चुनावी सभामा सिंहले हेटौंडाबासीले मेयरमा जिताए भ्रष्टाचार अन्त्य गर्ने उद्घोष गरे । उनले हेटौंडाको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको र हेटौंडा अस्पताल रिफर सेन्टरका रुपमा रहेको भन्दै आफू मेयर विजयी भए विशेषज्ञ सेवासहित सुबिधायुक्त अस्पताल निर्माण गर्ने बताए । उनले हेटौंडालाई सुन्दर, सभ्य, सफा तथा विकासको दृष्टिले देशकै नमूना सहर बनाउन आफूसँग योजना रहेको बताए । उनले आफू र जनताको गठबन्धन भएको भन्दै यस पटक मेयरमा आफू जित्ने र सरकारी भ्रष्टाचारको गठबन्धन पराजित हुने दाबी गरे ।

कार्यक्रममा तत्कालीन नेकपा एमालेका महासचिव तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नातिनी स्वेता खड्का राप्रपामा प्रवेश गरिन् । उनलाई पार्टी अध्यक्ष लिङ्देनले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । राप्रपाले यस पटक नगर मेयर, उपमेयर र सबै १९ वटा वडामा उम्मेद्वार उठाएको छ । जबकि, राप्रपा नेपालको उम्मेद्वारी मकवानपुरमै शून्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here