सुनिता बिष्ट
हेटौंडा–वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ । प्रदेशले ५० स्थानीय विद्यालयका लागि नर्स माग गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै ‘एक विद्यालय–एक नर्स’ कार्यक्रमअन्तर्गत् सामुदायिक ५० विद्यालयका लागि सेवा करारमा नर्स माग गरेको छ । प्रदेशका यसअघि वैकल्पिक सूचीमा रहेका नर्सहरुलाई नियुक्त गर्ने तयारी थालिएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले सूचना प्रकाशन गरेर २०७८ सालमा लिइएको परीक्षामा वैकल्पिक सूचीमा रहेका उम्मेद्वारलाई नियुक्त गर्ने तयारी गरेको छ भने वैकल्पिकमा नरहेकाको हकमा नयाँ आवेदन माग गरिएको स्वास्थ्य निर्देशनालय का निर्देशक महेश्वर श्रेष्ठले बताए ।

सबभन्दा बढी सिन्धुपाल्चोकमा ११ विद्यालयमा नर्स माग गरिएको छ । मकवानपुरका लागि ५, धादिङका लागि ४, काठमाडौंमा ४, सिन्धुलीमा ४, काभ्रेमा ४, नुवाकोटमा ४, चितवनमा २, रामेछापमा २, रसुवामा १, भक्तपुरमा १, दोलखामा ३ र ललितपुरमा २ सामुदायिक विद्यालयका लागि विद्यालय नर्स माग गरिएको छ ।

रिक्त रहेका ५० विद्यालयमध्ये ३१ विद्यालयमा विद्यालय रहेको पालिकाका कोही पनि वैकल्पिक सूचीमा नरहेको र १९ विद्यालयका पालिकामा भने वैकल्पिक उम्मेद्वार रहेको बताइएको छ । वैकल्पिक सूचीमा रहेका उम्मेद्वारलाई सूचना प्रकाशन भएको ५ दिनभित्र सेवा गर्नसक्ने ५ पालिकाको नाम उल्लेख गरी आवेदन दिन भनिएको छ । सुरुमा ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम नमूनाका रुपमा २० विद्यालयमा सञ्चालन गरिएको थियो । हाल ४ सय ६९ विद्यालयमा कार्यक्रम लागु भइसकेको छ ।

मकवानपुरका लागि ५ नर्स
मकवानपुरका ५ सामुदायिक विद्यालयका लागि ५ नर्स माग गरिएको स्वास्थ्य निर्देशनालय निर्देशक श्रेष्ठले जानकारी दिए । जिल्लाको मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका र वागमती गाउँपालिकाका विद्यालयका लागि नर्सका लागि आवेदन खुला गरिएको हो ।

वागमतीको सूर्य मावि र देवकी मावि, भीमफेदीको महालक्ष्मी मावि, मकवानपुरगढीको शारदा मावि र मनहरीको पशुपति माविका लागि आवेदन माग गरिएको छ ।

प्रभावकारी बन्दै कार्यक्रम
नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम हाल ४ सय ५९ विद्यालयमा लागु भएको छ । हरेक वर्ष प्रदेश सरकारले संख्या बढाइरहेको छ । यसको प्रभावकारिता बढेसँगै मन्त्रालयमा कार्यक्रम लागु गर्न धेरै विद्यालयबाट दबाब आउन थालेको छ । मन्त्रालयले विद्यालय छनौटको काम स्थानीय तहलाई दिएको छ भने कार्यक्रमका लागि वार्षिक बजेटसमेत स्थानीय तहमार्फत् निकासा गरिरहेकको छ ।

मन्त्रालयले एक वर्षमा एक विद्यालय बराबर ५ लाख बजेट निकासा गर्ने गरेको छ । धेरैजसो स्थानीय तहले कार्यक्रमलाई महत्वसाथ हेरेका र केही स्थानीय तहलाई कार्यक्रमबारे अझै धेरै बुझाउनु जरुरी रहेको स्वास्थ्य मन्त्रालय वागमती प्रदेशको दाबी छ । कार्यक्रम विशेषगरि नसर्ने रोग नियन्त्रणका लागि शुरु गरिएको हो । छात्रछात्रामा किशोर अवस्थामा आउने समस्या व्यवस्थापनका लागि कार्यक्रम प्रभावकारी भएको मन्त्रालयको दाबी छ ।

प्रदेशका १३ वटै जिल्लामा छनौटमा परेका मावि तहका सामुदायिक विद्यालयका नर्स प्रभावकारी रहेको पाइन्छ । नर्सले विद्यार्थीलाई जंकफुडमा रोक लगाउनेदेखि प्रजनन् स्वास्थ्य, सरसफाइ र आधारभुत स्वास्थ्य क्षेत्रका विषयमा चेतना फैलाउँदा विद्यार्थीको जीवनशैलीमा परिवर्तन देखिएको लाभान्वित विद्यालयको निष्कर्ष छ । प्रदेशमा १ हजार ५ सय २२ मावि तहका विद्यालय छन् । जसमध्ये ३ सय ५९ वटा मावि तहका विद्यालयमा मात्र नर्स छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here