Tuesday, October 22, 2024

काठमाडौंको फोहोरले फर्कायो बालेनलाई

ताजा / भरखरै प्राप्त

हेटौंडा–काठमाडौंबासी ‘अपमानित भएको’ महसुस भएपछि काठमाडौंका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल वागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा भएको स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरणलाई बीचमै छाडेर फर्किएका छन् ।

उक्त कार्यक्रममा काठमाडौंबासीलाई गाली गरेको र फोहोर विसर्जनका विषयमा अनावश्यक लाञ्छना लगाइएको भन्दै उनीहरुले कार्यक्रमस्थल छाडेका हुन् । काठमाडौंको फोहोरको उचित विसर्जन नभएसम्म विजयी माला नलगाउने र विजयोत्सवसमेत नमनाउने उद्घोष गरेका उनले उक्त कार्यक्रममा काठमाडौं अपमानित भएको महसुस गरेका हुन् ।

‘मलाई व्यक्तिगत्रुपमा आलोचना वा गाली गर्न पाइयो । तर, काठमाडौंसँग र काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो,’ उनले भनेका छन्–काठमाडौं केवल राजधानीमात्र होइन, अझ वागमती प्रदेशका लागि त एउटा पालिकामात्र हो । तर, काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गर्ने तर मौका पाउँदा केही नगर्ने कार्यक्रमको औचित्य नदेखेर कार्यक्रम छाडेको हुँ ।

‘गाली र आलोचना सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरबासीको सुन्नेछु । वा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रममा सुन्ने छु,’ उनले प्रष्ट्याएका छन् । मेयर शाहले सोमबार राति सामाजिकसञ्जालमा उक्त अभिमुखीकरण कार्यक्रमलाई ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ भएको आरोप लगाएका थिए । उनले भनेका छन्–‘वागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ मा सहभागी भएर धेरै खुशी लाग्यो । थ्यांक यु ।

नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धि अभिमुखीकरण सोमबार र मंगलबारका लागि आयोजना गर्रिको थियो । तर, काठमाडांैका मेयर शाह र उपमेयर डंगोल भने सोमबार नै कार्यक्रम छाडेर फर्किएका हुन् । उनीहरु कार्यक्रममा सहभागी हुन हेटौंडा आएका थिए । तर, उद्घाटन समारोहपछि उनीहरु त्यहाँ बसेनन् । बरु, उनीहरु सोमबार मानवसेवा आश्रम र हेटौंडा सामुदायिक आँखा अस्पताल पुगेका थिए ।

कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले मन्तव्य राखेपछि मेयर शाह मन्त्रीको अभिव्यक्तिप्रति सन्तुष्ट देखिएनन् । त्यसपछि कार्यक्रम छाडेर काठमाडौं गए । कार्यक्रमको शीर्षक भन्दा असम्बन्धित विषयमा छलफल केन्द्रित भएपछि उनले कार्यक्रम छाडेर हिँडेका थिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयमा चर्चा भएको थियो । काठमाडौं महानगरको फोहोर बञ्चरेडाँडामा फाल्ने विषयमाथि जमकट्टेलको असन्तुष्टि थियो । उनले कार्यक्रममा भनेका थिए–काठमाडौंबासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? काठमाडौंको फोहोरको असर कुनै हालतमा धादिङ र नुवाकोटका जनताले सहँदैनन् ।

मन्त्री जम्कट्टेलले ‘काठमाडौंलाई सुझाव’ भन्दै काठमाडौंले बञ्चरेडाँडामा फोहोर लैजान नपाउने दाबी गरेका थिए । ‘म त्यही निर्वाचन क्षेत्रको बासिन्दा हुँ । त्यहींका जनप्रतिनिधि हिसाबले भन्दैछु काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन । उनले महानगरप्रति लक्षित गर्दै एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नपाउने जिकिर गरे ।

उद्घाटन सत्रमा मन्त्री जम्कट्टेल मन्तव्य राख्दै नदीजन्य पदार्थ उत्खनन् गरेर खालानाला मास्न नहुने भन्दै त्यसतर्फ स्थानीय तहको ध्यान पुग्नुपर्ने बताए । उनी सोही क्रममा काठमाडौं महानगरपालिकाको फोहोरको विषयमा केन्द्रित भए । उनले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोटका जनतालाई पीडा दिन नहुने भन्दै आफ्नै पालिकामा व्यवस्थापन गर्न सुझाव दिए । ‘म र हालका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे त्यहींबाट निर्वाचित भएर आएका हौं,’ उनले भने ।

मन्त्री जम्कट्टेलको अभिव्यक्ति आएपछि शाह काठमाडौं फर्किएका हुन् । मेयर शाह जम्कट्टेल बोल्न थालेपछि कार्यक्रमबाट हिँडेका थिए । काठमाडौं महानगरबासीको गाली खान तयार रहेको भए पनि आफू बिनाकारण अरुको गाली खान तयार नभएको शाहले बताएका छन् । लामो छलफलपछि गत साता काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न थालिएको थियो ।

प्रदेश सरकारले सोमबार र मंगलबारका लागि प्रदेशका १३ जिल्लाका प्रमुख र उपप्रमुखलाई अभिमुखीकरण कार्यक्रम गरेको हो । प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको सभाध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश सरकारका मन्त्रीहरु, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिका प्रमुख र उपप्रमुख सहभागी थिए ।

काठमाडौं महानगर मेयर शाह र उपमेयर डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक÷केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेका कार्य, काठमाडौं महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयास र आगामी योजनाबारे जानकारी गराएका थिए ।

काठमाडौं महानगर प्रमुख शाह र उपप्रमुख डंगोलले हेटौंडा सामुदायिक आँखा अस्पतालको भ्रमण गरे । नेपाल आँखा कार्यक्रमका कार्यकारी बोर्ड सदस्य तथा हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धीलाल श्रेष्ठले भ्रमणका क्रममा अस्पतालका गतिविधिबारे जानकारी गराएका थिए । उक्त अस्पताल तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत् सामुदायिक आँखा अस्पताल हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles