नागरिकता विधेयकको आलोचना गरेको भन्दै मधेस प्रदेशमा पुत्ला दहन नै भएपछि रास्वपा सभापति रवि लामिछानेले खण्डन गरेका छन् । उनले आफु विधेयकको विपक्षमा नरहेको समेत बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो ।
त्यस विषयमा स्पष्टीकरण दिँदै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए ।
सदनमा छलफलमा ल्याएको भए विधेयकमाथि छलफल गरेर केही योगदान गर्ने र स्वामित्व लिन पाइने भनाइ आफूहरुको रहेको रविले बताए ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा रविले आफूहरुलाई राजनीतिको कुनै सरोकार नहुँदा र भोट बैंकको आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितको विषयमा आफूहरु मधेशी जनताको पक्षमा उभिएको बताए ।
यस्तै, रविले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताए ।
‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ, भनि रविले भनेका छन् ।

