Friday, January 17, 2025

तराइका जिल्लामा खटिएका नेपाल प्रहरीका कमाण्डरहरुलाई फिर्ता बोलाउने तयारी भएको छ ,! भारतीय सीमा आसपासका जिल्लाहरुको चिनी समेत विक्री हुन छाडेको र सीमबाट अत्याधिक तस्करी बढेको गुनासो आएपछि नेपाल प्रहरीका एसपीहरुलाई सरुवाको तयारी थालिएको हो । सीमामा सशस्त्र प्रहरीले सुरक्षा गर्ने भएपनि नेपाल प्रहरीका कमाण्डहरुले समेत हस्तक्षेप गर्ने र लाइन मिलाएर तस्करीलाई सहयोग गर्न थालेपछि प्रहरी प्रधानकार्यालयले उनीहरुलाई फिर्ता बोलाउन नीति लिएको हो ।

ताजा / भरखरै प्राप्त

कमाण्ड गरिरहेका जिल्लाका एसपीहरुको कार्यक्षमता कमजोर रहेको रिपोर्ट पनि प्रहरी प्रधानकार्यालमा आइपुगेको छ । चार एआइजीहरुले केही दिन अघि मात्रै चार प्रदेशमा पुगेर तयार पारेको रिपोर्टमा तराईका जिल्लामा कमाण्ड गरिरहेका एसपीहरुको कार्यक्षमता कमजोर रहेको उल्लेख छ । चार एआइजीले चार प्रदेशमा अनुगमन गरेर आफ्नो रिपोर्ट पनि बुझाइसकेको र उनीहरुले दिएको रिपोर्टमाथि प्रहरी प्रधानकार्यालयले अध्ययन गरिरहेको छ ।

कोशीमा टेकप्रसाद राई, मधेसमा मिरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदुरपश्चिममा सुदीप गिरी खटिएका थिए । उनीहरुले पनि विभिन्न जिल्लामा प्रहरी मिलेमतोमा तस्करी भएको रिपोर्ट दिएको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।

सोही रिपोर्टको आधारमा पश्चिम नवलपरासीका एसपी बिनोद सिलवाल चार महिनामै तानिएका छन् । कमजोर कमाण्डको आरोपमा उनलाई छोटो समयमै हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनीहरुले बुझाएको रिपोर्ट अनुसार मोरङका दीपक पोखरेलले जिल्लाका स्थानीय तहका प्रतिनीधिसँग मिलेर तस्करीलाई बढवा दिएको उल्लेख छ ।

धनुषाका विश्वराज खड्काले तराई व्यक्ति हत्या र दाइजोमा भएको विवादमा आर्थिक चलखेल गरेको उल्लेछ । महोत्तरीका प्रकाश मल्लले सीमा क्षेत्रमा रहेका ह्याचरीबाट आर्थिक लाभ , पर्साका कोमल शाह, सर्लाहीका नरेशराज सुवेदी, रुपन्देहीका भरतबहादुर विक, कैलालीका देवेन्द्र पाल, दाङका वीरबहादुर वली तथा बाँकेका सन्तोषसिंह राठौरको कार्यक्षमतामा प्रश्न उठेको छ!

सिरहाका एसपी टेकुवानन्द लिम्बू र झापाका दुर्गा रेग्मीलाई पनि सचेत गराइएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेरसिंह कडायतले एआइजीहरुको रिपोर्ट आइसकेको बताए । ‘चार प्रदेशको सीमा क्षेत्रका जिल्लाहरुको अनुगमनका लागि जानु भएको थियो फर्केर आएपछि त्यसको जानकारी दिइसक्नु भएको छ’, प्रवक्ता कडायतले भने । उनीहरु एक महिना अघि सीमा क्षेत्रका प्रदेशको अनुगमनमा खटिएका थिए । उनीहरुले तत्कालै एकस्न लिन सुझाव दिएको भएपनि माओवादी र कांग्रेसको पहँुचमा रहेका एसपीहरुलाई गृहमन्त्रालयले सरुवा गर्ने अनुमति दिएको छैन ।

प्रहरी प्रधानकार्यालयमा आएको रिपोर्टलाई थप छानवीन गर्नुपर्ने भन्दै आलटाल गरिएको छ । स्रोतका अनुसार छानबिन गरी कारबाही गर्न आइजिपी बसन्तबहादुर कुँवरले उजुरी छानबिन शाखाका एसएसपी शेखर खनाललाई निर्देशन दिएपनि खनाल पनि विवादमा परिन्छ भनेर चुपचाप बसेका छन् । अनुगमनका क्रममा मधेस र लुम्बिनी प्रदेशमा व्यापक बिकृती देखिएको सो रिपोर्टमा उल्लेख छ ।

सीमामा चोरी तस्करी नियन्त्रण नहुँदा राजश्व संकलन प्रभावित भएको गृह मन्त्रालयको गुनासोपछि प्रहरीले सक्रियता बढाउदै एआइजीहरुलाई अनुगमनका लागि खटाएको थियो । एक साताको अवधि दिएर प्रधान कार्यालयले एआइजी नेतृत्वको टिमलाई नाकाहरूमा खटिएका उनीहरुले जेठको पहिलो साता नै रिपोर्ट बुझाईसकेका थिए । ‘मन्त्रालयले यो विषयमा जानकारी राखेको भएपनि कांग्रेस माओवादीको दुवैको सम्पर्क र सम्बन्धमा रहेका एसपीलाई सरुवा गर्न प्रहरी प्रधानकार्यालयले सकिरहेको छैन, तयारी थालेको हो केही दिन समय लाग्ने अवस्था छ, आइजीपी विदेशबाट आइपुग्नु भएको छ अब गृहमा यसबारे जानकारी दिने तयारी छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles