नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस भइरहेका बेला प्रतिवादीहरूले हिरासत कक्षमा बस्न समस्या भइरहेको भन्दै इजलासमा गुनासो गरेका छन् । आइतबारको बहस सकिएपछि टेकनाथ रिजाल र शमसेर मियाँले न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सामुन्ने पुगेर गुनासो गरे । हज कमिटीका अध्यक्षसमेत रहेका शमसेरले हिरासत कक्षमा नमाज पढ्न नपाएको देखि प्रहरीले आफ्नो कुराहरू नसुन्ने गरेकोसम्म बताए । त्यसपछि टेकनाथ रिजालले टेकुको हिरासतमा सास फेर्न पनि समस्या हुने गरेको बताए । ‘खप्टिएर बस्नुपर्छ। सास फेर्न पनि गाह्रो भयो’, उनले भने । त्यसपछि न्यायधीश न्यौपानेले गुनासो तत्काल समाधान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । ‘मानिसका धार्मिक, सांस्कृतिक कुराहरूलाई हामीले हेरिदिनुपर्छ’, उनले भने । दरबारमार्ग वृत्तमा राखिएका ४ जनालाई शनिबार दिउँसो टेकु सारिएको थियो ।
