महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित-:हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ ।जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।नेपालका २ जना बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन नसक्दा नेपाल पराजित भयो ।ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् ।यसअघि नेपालका बलरहरूले राम्रो प्रदर्शन गर्दा पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २/२ विकेट लिए ।इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई ह्याट्रकको अवसर थियो तर ओभरको अन्तिम बलमा विकेट लिन सकिनन् ।पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।२० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।