बजेटका कारण देखिएको असन्तुष्टीलाई मिलाएर लैजान सत्ता गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै विद्रोहको चेतावनी दिदै आएका गठबन्धनका नेताहरु फेरि मिलेर जान सहमत भएका हुन् ।
बजेटमा देखिएको असन्तुष्टीलाई मिलाएर लैजाने र कोशी प्रदेशमा देखिएको अशान्तिलाई समेत हल गर्न पहल गर्ने निर्णय गठबन्धन दलहरुले गरेका छन् ।
मंगलबारको बालुवाटार छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री तथा कांग्रेस नेता डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।
बजेटमाथि नेकपा एसले चर्को असन्तुष्टी पोख्दै आएको छ । तर, नेकपा एसका अध्यक्ष माधव नेपालले पनि मिलेर अघि बढ्नुको विकल्प नभएको टिप्पणी गरेका छन् ।