Thursday, December 5, 2024

नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म मुलुकको आन्तरिक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड र बाह्य ऋण १० खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

ताजा / भरखरै प्राप्त

नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको हो । घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा–ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसदमा विषय उठिरहेका वेला कार्यालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोडबराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये रु. दुई खर्ब ४० अर्ब आन्तरिक र रु. दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने सरकारको लक्ष्य छ । गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण रु. २० खर्ब १३ अर्ब २९ करोड ६४ लाखबराबर थियो । चालू आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र रु. एक खर्ब ५९ अर्ब ९५ करोड आठ लाखबराबर ऋण थपिएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार रु. ४८ खर्ब ५१ अर्ब ६२ करोडलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४४.७९ प्रतिशत पुगेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने भन्दै यो विषय अहिले संसदमा समेत उठिरहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा सरकारले रु. तीन खर्ब ६ करोड ऋण उठाएको छ भने रु. दुई खर्ब पाँच अर्ब १७ करोडबराबर साँवा–ब्याज भुक्तानी गरेको छ । जेठ मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरेको खर्च करिब रु. ५२ अर्ब आठ करोड ६० लाखले बढी छ । जेठ मसान्तसम्ममा सरकारको पुँजीगत खर्च रु. एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख छ ।

यसरी एकातर्फ सरकारको राजस्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा–ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

यो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कमिसन भुक्तानीमा रु. एक खर्ब ६४ अर्ब ४८ करोड ७८ लाखबराबर खर्च भएको छ । जेठ महिनासम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा रु. एक खर्ब आठ अर्ब ११ करोड ३८ लाख, ब्याज भुक्तानीमा रु. ५६ अर्ब २६ करोड १० लाख र कमिसन भुक्तानीमा रु. ११ करोड ३० लाखबराबर खर्च भएको छ ।

त्यस्तै, बाह्य ऋणको साँवा–ब्याज भुक्तानीमा रु. ४० अर्ब ६८ करोड ४२ लाखबराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा रु. ३१ करोड ९९ लाख ८८ हजार र ब्याज भुक्तानीमा रु. आठ अर्ब ६८ करोड ५४ लाखबराबर खर्च भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना ०७८ अनुसार कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण रु. ७४ हजार पाँच सय १६ बराबर पर्न जान्छ ।

सार्वजनिक ऋण
141


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
सांसद केसी पनि नोटबन्दीको पक्षमा उभिए
सांसद केसी पनि नोटबन्दीको पक्षमा उभिए
असार ५, २०८० मंगलबार

अहिले भ्यू टावर आवश्यकता छैन: कार्की

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles