गण्डक नहरमा धान रोप्ने सिजनमा पानी आएनवीरगंज। पर्सा, बारा र रौतहटसम्म फैलिएको गण्डक नहरमा पानी आएको छैन। भारतीय पक्षले पानी नछाड्दा पानी नआएको हो। गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायाणी सिँचाईका सूचना अधिकारी एवं इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारतीय पक्षले भारतीय नहरमा मर्मत भइरहेको बताउँदै पूर्णरुपमा पानी छाडेको छैन।धान रोपाइँका लागि गण्डक नहरमा असार १५ देखि पानी दिनुपर्ने नियम छ। तर भारतले पानी नदिँदा पर्सा र बाराका किसानको रोपाइँ प्रभावित भएको छ।भारतसँगको गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ मा र धानबालीको लागि असार १५ मा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिइसक्नु पर्छ।भारतको झमरी नदीमा नहरको संरचनामा लिकेज भएको भन्दै हाल भारतीय पक्षले नहरको मर्मत सम्भारको काम गरिरहेको छ। यो स्थान नेपाल-भारत सीमाबाट करिब १२ किमि पश्चिममा पर्छ। हाल गण्डक नहरमा भारतीय पक्षले जम्मा २ सय क्युसेक पानी छोडेको छ।उक्त पानीले किसानको गर्जो टार्न नसक्ने नारायणी सिचाइँ व्यवस्थापन कार्यालय वीरगंजका प्रमुख मनोरञ्जनकुमार सिंहले बताए। ‘एक साताभित्रै कम्तिमा गण्डक नहरमा ५ सय क्यूसेक पानी हामीलाई चाहिन्छ। भारतीय पक्षले चार-पाँच दिनभित्रै पानी जान्छ भनेका छन्’-उनले भने।नेपालतर्फ भने मुख्य नहर प्रणाली तथा सहायक प्रणालीहरुमा मर्मत सम्भारको काम सम्पन्न भई अब पानीको प्रतीक्षा मात्र गरिएको उनले बताए। नहरको मुख्य संरचना पर्सा, बारा र रौतहटमा गरी करिब २ दर्जन गेटको मर्मत सम्भारको काम पुरा भएको उनले जानकारी दिए।उनका अनुसार नहरमा बाराको जमुनीमा ४ वटा स्केप गेट परिवर्तन र रौतहटमा चेक गेट हेड रेगुलेटरको मर्मतको काम सम्पन्न भइसकेको छ।पानीको अभावले धान रोपाइँ गर्न नसकेको पर्साको वीरगंज-२१ पटेलनगरका रामप्रवेश पटेल बताउँछन् । उनले भने- ‘सबै किसान पानीको पर्खाइमा छन्, पानी आउनेबितिकै रोपाइँ शुरु हुन्छ।’गण्डक ब्यारेजको निर्माण भारतले गरेकाले सञ्चालन पनि भारतीय पक्ष आफैंले गर्छ। उसले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लैजाने गरेको छ। सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको थियोे।गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिंचित गर्ने लक्ष्यका साथ निर्माण भएकोमा भारतले हरेक वर्ष कुनै न कुनै कारण देखाइ नेपाललाई पानी दिन ढिलाइ गर्ने गरेको छ। नवलपरासीको भैंसालोटनममा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गर्छ।यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ। पर्सा, बारा र रौतहट सम्म बग्ने गण्डक नहरको लम्बाई ८१ किलोमिटर छ भने कूल लम्बाइमा १५ वटा ब्लक छन्। तर, अहिले पर्सा र बाराको गरी ११ नम्बर ब्लकसम्म मात्रै पानी जाने गर्छ। साभार ,!