बोक्सीको आरोपमाकपाल मुण्डन गरेर निर्घात कुटपिटबारा । बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका २ श्रीनगर बैरियामा एकजना महिलामाथि निर्धात रुपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ ।स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलाकी श्रीमतीले छिमेककी ५६ वर्षीया हिरवा देबी लोहारिनलाई बोक्सी आरोपमा गयराति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन् ।‘राति घरमा एक्लै बसेको बेलामा बोक्सी भन्दै घरभित्र पसेर एक्कासी कुटपिट गरेको पीडित लोहारिनले बताइन्। कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट बोहोरेकी लोहारिनको हाल कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।सोही साँझ घर नजिकैको धानखेतमा जादै गरेको अवस्थामा भोला र ओजिरले गाली गलौज गर्दै उनलाई कुटपिट गर्ने प्रयास गरेका थिए । ‘खेतमा पनि बोक्सी भन्दै आक्रमण गर्न खोजेका थिए । उनले भनिन्, ‘तर भागेर ज्यान जोगाए । पछि घरमै आएर कुटे ।’यसअघि पनि उनीहरुले बोक्सी आरोपमा आफूलाई पटकपटक सार्वजनिक स्थलमा गालीबेइज्जत गर्दै आएको उनले बताइन् ।बोक्सी आरोपमा महिलामाथि कुटपिट हुदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजिव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताए। अर्का आरोपी ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन । २ वर्षअघि पती रामाज्ञा ठाकुरको निधनपछि लोहारिन छोरा मिथिलेश शर्मासंगै घरमा बस्दै आएकी थिइन् ।२० वर्षीय छोरा मिथिलेश पनि घटनाको समयमा घर बाहिर रहेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेको र घटनाको बारेमा थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको टोली हिजो दिउसो घटनास्थल पठाइएको जानकारी दिए ।