राजमार्ग खुलाउन लाठीचार्ज र हवाई फायरराजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी ३ स्थित महुली पुलमा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको छ ।हरेक वर्ष वर्षातमा महुली नदीको बाँध भत्किएर बस्तीमा पस्ने गरेको र यस वर्ष पनि बाँध कटान हुन थाले पनि स्थानीय सरकार लगायत सम्बन्धित निकायले बाँध नियन्त्रणमा चासो नदिएको भन्दै स्थानीय बासिन्दाहरूले केही घण्टादेखि नै प्रदर्शन गर्दैआएका थिए ।आक्रोशित स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पोर्ताहाको महुली पुल नजिकै बुधबार दिउँसो सडक अवरुद्ध बनाएका थिए ।सडक खुलाउन गएका प्रहरी र बन्दकर्ताबीच झडप भएको हो । राजमार्ग खुलाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै हवाई फायर समेत गरेको छ ।सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले भने राजमार्ग खुलाउन सामान्य बल प्रयोग गर्नुका साथै सटगनबाट एक राउण्ड हवाई फाइर गरिएको र अहिले राजमार्ग सञ्चालन भएको बताएका छन् ।