Monday, November 11, 2024

नेपाली कांग्रेसले आज जिल्ला सभापतिहरूको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो । क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेका छन् ।

ताजा / भरखरै प्राप्त

मंसिर ४ मा सम्पन्न निर्वाचनपछि पार्टी गतिविधिलाई निष्क्रिय राख्दै आएको कांग्रेसले तल्लो तहबाटै संगठन विस्तार सम्बन्धी कार्यक्रमहरू सुरु गर्ने तयारी अनुरुप सभापतिहरुको बैठक बोलाएको हो । पहिलो चरणमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई व्यवस्थित रुपमा अगाडि बढाउने विषयमा छलफल हुनेछ ।

क्रियाशील सदस्य नवीकरणसहित नयाँ सदस्य थप गर्ने विषयलाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने रणनीति तय गर्न कांग्रेसले ७७ वटै जिल्लाका सभापतिहरूलाई काठमाडौं बोलाएको छ । केही जिल्लाका सभापति काठमाडौं आइसकेको र केही आउने क्रममा रहेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपालबहसलाई जानकारी दिए ।

उनका अनुसार बिहीबार मध्यान्ह १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भेला हुने सभापतिहरूलाई जिल्ला तह र त्यसभन्दा मुनिका निकायमा कसरी संगठन विस्तारका कार्यक्रमहरू बनाउने, विभाजन गर्ने र सञ्चालन गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिनेछ । क्रियाशीलको नवीकरण र नयाँ सदस्यता थप गर्ने विषयलाई प्रभावकारी बनाउन कांग्रेस नयाँ रणनीति र स्पष्ट योजनासहित जाने तयारीमा छ ।

यसको अलवा जिल्ला सभापतिहरूसँग जिल्लामा भइरहेका पछिल्ला गतिविधिहरूबारे पनि जानकारी लिइने छ । प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीको केन्द्रीय समितिको बैठकमा उठाइने एजेण्डहरुका लागि पनि जिल्ला सभापतिहरूको छलफल र परामर्शबाट धेरै कुराहरू आउने बताए । उनले कांग्रेस सबै किसिमका समस्याहरूसँग जुध्न सक्ने गरि तल्लो तहबाटै संगठनका गतिविधिहरू परिचालन गर्ने तयारीमा रहेको बताए ।

असार २७ मा केन्द्रीय समितिको बैठक बोलाउने विषयमा बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरूले छलफल गरेका थिए । केन्द्रीय समिति बैठक बोलाउने लगायतका विषयमा सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको बैठक बसेको थियो । यही छलफलबाट असार २७ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको हो ।

कांगेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्ने व्यवस्था छ । तर गत वर्ष असार २७ देखि साउन २ सम्म बसेपछि बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा सभापति शेरबहादुर देउवाको आलोचना हुँदै आएको थियो । बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा केही केन्द्रीय सदस्यहरूले निवेदन समेत दिएका थिए ।

नेपाली कांग्रेस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles