मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकोप्टर सोलु दूधकुण्ड गाउँपालिका वडा नम्बर २ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जानकारी दिएको छ ।
दुर्घटनास्थलमा रहेका बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले दुर्घटना भएको पुष्टि गरेका छन् । सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकोप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकोप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए । लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।
हेलिकोप्टर लामाजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए ।
(हेलिकप्टर दुर्घटना)