प्रारम्भिक चरणमा उक्त सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘केहीबेरमा यसबारे निर्णय हुन्छ, हामीले आन्तरिक छानबिन तीव्र पारेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘जाँचपासमा संलग्न सबै निलम्बन हुन्छन् ।’
विभागले कार्यालयबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्ने बारे विभागले अनुसन्धान अघि बढाएको महानिर्देशक पौडेलले बताए ।
पौडेलका अनुसार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास पनि जाँचकीले बनाउनुपर्छ । यसै बीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाउने भएको छ ।
पौडेलको नेतृत्वमा केहीबेर अघि भएको छलफलमा उक्त निर्णय भएको हो । जाँचपासमा संलग्नबाहेक आवश्यकताअनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छानबिन गरिने विभागले जनाएको छ ।
विमानस्थल भन्सार कार्यालयका अनुसार घटनाका विषयमा थप विवरण संकलन गर्न अहिले सीसीटीभीको फुटेज डाउनलोड गरेर थप विवरण संकलन गर्न सुरु गरिएको छ । सामानको एक्सरे कसरी गरियो, त्यसको विवरण पनि संकलन गर्न सुरु गरिएको छ ।
राजश्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्याएको सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।
कर्मचारी
विमानस्थल भन्सार