वीपी स्मृति दिवस परेकाले नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक पनि आज स्थगित गरिएको छ । वीपी स्मृति दिवसको अवसरमा कांग्रेसमा परिवर्तनको अभियान लिएर कांग्रेस नेताहरु विभिन्न जिल्लामा पगेका छन् । महामन्त्री विश्वप्रकाश शर्मा उपत्यकामा रहेका छन भने अर्का महामन्त्री गगन थापा उपत्यका बाहिर गएका छन् । यसै गरी कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला यसै कार्यक्रमका लागि विराटनगर पुगेका छन् । सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी पुगेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न देउवा सुनसरी पुगेका हुन् ।
नेपाली कांग्रेसले ४१ औँ बिपी स्मृति दिवसको अवसरमा आजदेखि सदस्यता वितरण तथा नविकरण अभियान पनि सञ्चालन गरेको छ । नेपाली कांग्रेसका जिल्ला जिल्ला सभापतिहरुले आजदेखि आफ्नो जिल्लाका वडा तहमा एकैसाथ अभियान सञ्चालन गर्न लागेका छन् । अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको छ । अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरणलगायतका जागरणका काम गरिनेछ ।
नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिनेछ । अहिले वितरण गरिएको साधारण सदस्यलाई एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिन सकिनेछ । अभियानका क्रममा पार्टीका गतिविधिमाथि छलफल तथा अन्तक्र्रिया हुनेछन् ।
विसं २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका कांग्रेसको महाधिवेशनमा वीपीले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइएको थियो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिए । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो ।
बिपीको जीवनका महत्त्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । संग्राहलयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्यांकर कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।
कोइरालाले राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ– मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् ।
नेपाली कांग्रेस