पार्टीको आन्तरिक जीवनमा आमुल परिवर्तनका एजेण्डा बनाउने, कार्यान्वयन गर्ने र जिल्लाका राजनीतिक तथा समसामयिक विषयमा कांग्रेसले कस्तो उपस्थिति जनाउने भन्ने बारे जिल्लामा नेताहरूबीच छलफल चल्नेछ । यसका लागि केन्द्रबाट केन्द्रीय सदस्यसहित अन्य नेताहरू पनि खटिनेछन् भने प्रदेश सभापति र प्रदेश कार्यसमितिलाई कार्यक्रमको जिम्मेवारी दिइएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारी अनुसार जिल्लामा १० दिनको कार्यक्रममा केन्द्रीय प्रतिनिधि, प्रदेश सभापतिसहित कार्यसमिति, जिल्ला सभापति, नगर सभापति र इकाइ सभापतिहरू जम्मा भएर छलफल गर्ने छन् । क्रियाशील सदस्यहरूको नवीकरण गर्ने र नयाँलाई सदस्यता वितरण गर्ने कार्यक्रम तय हुनेछन् । इकाई समितिहरु प्रभावकारी रुपमा परिचालन भए नभएको र आउने दिनमा इकाई समितिलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
छलफलमा इकाइले नगर समितिलाई, नगर समितिले जिल्ला र क्षेत्रीय समितिलाई र जिल्ला समितिले प्रदेश समितिलाई दिनुपर्ने जानकारी बुझाउनुपर्ने विवरणबारे कार्यनीतिहरु बनाइनेछ । मतहतका समितिहरुको नियमित बैठक बसे नबसेको र बैठक बसेर भएका निर्णयहरू माथिल्लो निकायलाई जानकारी गराए नगराएकाे लगायतका विषयमा छलफल हुनेछ भने १० सम्मको विशेष कार्यक्रम सकिएपछि मातहतका समितिहरुले गर्न पर्ने काम र माथिल्ला निकायहरूलाई दिनुपर्ने जानकारी नियमित हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
सबैभन्दा तलको तह इकाई समिति प्रभावकारी भएपछि नगर समितिदेखि प्रदेश समितिसम्म प्रभावकारी रुपमा चल्न थाल्ने र यसले केन्द्रीय समितिलाई पनि थप जिम्मेवार बनाउने नेताहरू बताउँछन् । कांग्रेसमा यसअघि नियमित रुपमा केन्द्रदेखि इकाईसम्मका समितिहरु निष्क्रिय जस्तै थिए । झण्डै एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठकपछि प्रदेश, जिल्ला, नगर र इकाईसम्ममा समितिहरुलाई पनि क्रियाशील बनाउन कांग्रेसले १० दिनको विशेष कार्यक्रम राखेको हो ।
नेपाली कांग्रेस