हतकडीसहित फरार भएका लामा हतियारसहित पक्राउबारा । हतकडीसहित फरार भएका जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीका सागर लामालाई प्रहरीले विहिबार साँझ निजगढबाट नियन्त्रणमा लिएको छ । साउन १६ गते टांगियाबस्तीस्थित घरबाट हतियारसहित पक्राउ परेको केही समयमै फरार भएका ३५ वर्षीय लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।लामाआत्मसमर्पण गर्नका लागि निजगढ पुगेका बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । सोही क्रममा प्रहरीले निजगढ बजारबाट उनलाई नियन्त्रणमा लिएको हो । हतकडीसहित फरार रहेका लामालाई गोली हानेर नियन्त्रणमा लिन आदेश दिएपछि परिवारका सदस्य लामाको आत्मसमर्पणका लागि राजी भएको र सोही अनुसार निजगढ पुगेको प्रहरी उपरीक्षक बोगटीको भनाइ छ ।केहि दिनअघि घरमा भरुवा बन्दुक र वन्यजन्तुको अंग भेला परे पछि प्रहरीव्दारा सोहि दिन नियन्त्रणमा लिएका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालय निजगढ तर्फ ल्याउने क्रममा स्थानीय महिलाहरुले बाटो छेकेर अवरोध गरेपछि दुबै पक्षबीच दोहोरो भिडन्त भएको थियो । करिब तीन सयको सङख्यामा आएका महिलाहरुले प्रहरी टोलीमाथि ढुङगामुढा गरी हतियारसहित पक्राउ परेका लामालाई प्रहरीको भ्यानबाट खोसेर लगेका थिए । भिडन्तमा इलाका प्रहरी कार्यालय निजगढमा बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी सामान्य घाईते भएका थिए ।शाहीको बाँया हातमा चोट लागेको छ भने गिरीको बाँया कुम र बाँया हातमा चोट लागेको छ । वडा सदस्यको रोहबरमा घटनास्थलको मुचुल्का गरेर लामालाई निजगढ प्रहरी कार्यालय तर्फ ल्याउने क्रममा बाटो छेकेर बसेका युवा र महिलाहरुको समुहले प्रहरीमाथि एक्कासी ढुङ्गामुडा गरेको थियो । स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो ।लामाले घरमा ठुला हतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोलीले लामाको घरमा छापामारी गरेको थियो । सो क्रममा लोड भएको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको जस्तो देखिने २ वटा दारा, रौं १३ ओटा र नग्रा ३ वटा बरामद गरेको थियो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हथकडीसहित फरार बनेका लामा वन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको घरमा ठूला हतियारसमेत राख्ने गरेको सूचनाको आधारमा घरमा छापामारी गरिएको बताए।
Previous articleचितवनमा ट्राफिक कारबाहीतीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलनचितवन । गत आर्थिक वर्ष २०७९-८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार एक सय ९४, जीप तथा कारका चालक सात हजार सात सय १२, ट्र्याक्टर चालक एक हजार छ सय नौ, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार एक सय सात र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक छ हजार नौ सय ६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।गत आवमा तीन सय तीन सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा एक सय ७० जना गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको उनले बताए। सबैभन्दा बढी जिल्लाका भित्री सडकमा एक सय ४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।