गौर हत्याकाण्डबारे केही गर्न नसकेकोमा आत्मालोचित छौं : डा. बाबुराम भट्टराईनेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका छन् ।ट्वीट गर्दै उनले भनेका छन्, ‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे (गौर हत्याकाण्डबारे) केही गर्न नसकेकोमा आत्मालोचित छौं ।’बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।यस सहमतिप्रति लक्षित गर्दै डा.भट्टराईले लेखेका छन्, ‘गौर हत्याकाण्डको आन्तरिक र बाहृय जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न ।’गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको घटना नभएको पनि उनले बताए ।‘स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन । यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढंगले मच्चाएको नृसंश हत्याकाण्ड थियो’ डा.भट्टराईले उल्लेख गरेका छन् ।सरकारले १७ वर्षअघि भएको उक्त हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति गरे पनि त्यसको कार्यान्वयनमा हुनेमा उनको आशंका छ ।‘तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ?’ डा.भट्टराइको प्रश्न छ ।यसको जवाफ भविष्यले बताउने पनि उनले उल्लेख गरेका छन् । उनी अगाडि लेख्छन्, ‘सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् । सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ ।साभार