Sunday, June 29, 2025

७५ वर्षदेखि १२५ वर्षमा पाेखरा फेवाताल विनाकाे बन्ने !

ताजा / भरखरै प्राप्त

पोखरा । फेवा ताललाई पोखराको मुटु मानिन्छ । तर वर्सेनि फेवामा प्राकृतिक तथा मानवीय अतिक्रमण बढ्दो छ । केही अध्ययनले फेवा ताल अहिलेकै गतिमा घट्दै जाने हो भने इतिहासमा फेवा ताल पोखराको भूगोलबाट हराउन समेत सक्ने प्रक्षेपण गरिएका छन् । तर पनि यसलाई संरक्षण गर्नुपर्ने निकायहरु भने मौन छन् ।
फेवा तालको क्षेत्रफल वर्सेनि घट्दै गइरहेको छ । २०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको विशाल फेवा ताल अहिले ४ वर्ग किलोमिटरमा खुम्चिएको छ ।जति पटक फेवा तालको क्षेत्रफल मापन गरिएको छ, त्यती नै पटक फेवाको क्षेत्रफल पनि घट्दै गएको छ । फेवा तालको क्षेत्रफल घट्नुमा प्राकृतिक कारणहरुसंगै मानवीय अतिक्रमण पनि देखिन्छ ।विभिन्न अध्ययन प्रतिवेदन अनुसार अहिलेकै गतिमा अतिक्रमण गरिएमा ७५ वर्षदेखि १२५ वर्षमा फेवा अहिलेको अस्तित्वबाट पुरै नामेट हुनेछ ।
फेवा अहिलेको अस्तित्वबाटै हराउन एक शताब्दीको हाराहारीको समय लाग्ने विभिन्न अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनमै उल्लेख भएजस्तो फेवा पुरै पुरिएर विशाल मैदानमा परिणत भयो भने अहिलेको जस्तो चलायमान र गुल्जार पोखरा बन्ला त ?
भन्ने प्रश्नहरु उब्जिएका छन् । पर्यटनको राजधानी शहर पोखरा भन्दै आएका पोखरेलीको आर्थिक, सामाजिक तथा वातावरणीय अवस्थामा समेत ठुलो प्रभाव पर्ने भन्दै यस्तो परिकल्पना समेत गर्न नसकिने फेवा संरक्षणकर्मीहरु बताउँछन् ।फेवा तालको मौलिकता र गुण हराउँदै जाँदा पनि स्थानीय पर्यटन व्यवसायीहरु नै फेवालाई सिध्याउँन तछाड मछाड गरिरहेका छन् । प्राकृतिक रुपमा संकटउन्मुख बनेको फेवालाई संरक्षण गरेर बचाई राख्नुको सट्टा स्थानीयले नै तालमै ढल मिसाएर प्रदुषित बनाइदिएका छन् ।
फेवाका विभिन्न किनारबाट सिँचाइ कुलो, ढलकुलाहरु फेवामा मिसिन्छ । तर तालको अतिक्रमण रोक्न स्थानीय, महानगरपालिका र सरोकारवालाले सकिरहेका छैनन् ।पछिल्लो समय फेवाको पानी प्रदुषित मात्रै नभई भविष्यमा पोखराको वातावरण नै धुमिल हुने संकेतहरु समेत देखिँदै गएका छन् ।फेवामा आश्रित स्थानीय जलचरहरु हराईसकेका छन् भने फेवा आसपासमा देखिने चराहरुसमेत अहिले देखिन छाडेका छन् ।
विगतको तुलनामा पोखराको तापक्रमसमेत बढ्दै गएको छ । फेवा नै लोप भयो भने पोखराका अन्य जलकेन्द्रहरु समेत क्रमशः हराउँदै जाने यस सम्बन्धी जानकारहरुको बुझाइ छ ।त्यसैले यस्तो भयानक अवस्थाबाट जोगिन बेलैमा सबै क्षेत्रका मानिसहरु सचेत भएर फेवा संरक्षणमा जुट्नुको विकल्प देखिदैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles