काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ । कार्यविभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ । अरु तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ ।
पछिल्लो पटक भुटानी शरणार्थी प्रकरणमा आफूप्रतिकूल अनुसन्धानमा श्याम ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल कांग्रेसका नेता असन्तुष्ट थिए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत ज्ञवाली सरुवा गर्न चाहेका थिए । उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन् ।
यस्तै प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख एसएपी दानबहादुर कार्की, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्न गृह मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सीआईबीमा सरुवाको प्रस्ताव गरिएको छ ।
काठमाडौं प्रहरी परिसरमा प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी भुपेन्द्र खत्रीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । त्यस्तै राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवाको प्रस्ताव गरिएको छ ।
त्यस्तै ललितपुर प्रहरी प्रमुखमा भने केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का एसएसपी दिनेश आचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका एक अधिकारीले सरुवाको प्रस्ताव प्रहरी प्रधान कार्यालयबाट आएको र सरुवाको औपचारिक निर्णय हुन बाँकी रहेको बताए ।
पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भूमिका महत्त्वपूर्ण थियो । शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले ’उच्च राजनीतिक नेक्सस’ समेत उजागर गरेपछि दुवै युनिटका प्रमुखलाई हटाउन लबिइङ भइरहेको छ ।
सरुवा
एआईजी
