सुजन चालिसे
नेकपा एकिकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनालबिचको टकराब संस्थागत रुपमै देखिएको छ । बिहिबार सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनउपर छलफल गर्दा तल्लो तहका नेताहरु पक्ष विपक्षमा बाँडिएका थिए । खासगरी नेपाल र खनालबीच मार्ग निर्देशक सिद्धान्तकै विषयमा बेमेल देखिएको छ । जसले गर्दा आगामी माघ महिना गर्ने भनिएको महाधिवेशनमा यसको प्रत्यक्ष प्रभाव पर्ने छ ।
नेकपा एकिकृत समाजवादीको केन्द्रीय समितिको छैठौंँ बैठक विहिबार सकियो । अध्यक्ष माधव नेपालले पार्टीको मार्ग दिर्नेशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) नै रहेको स्पष्ट गरेपछि सम्मानित नेता झलनाथ खनालले फरक मत राखेका छन् । नेपाल र सम्मानीत नेता खनालबिच वैचारीक र कार्यगत टकराबले पार्टीमा स्पष्ट दुई धार देखिएको छ । बैठकको पहिलो दिन अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र सो उपर नेता खनालले राखेको फरक मत, बैठकभरी केन्द्रीय सदस्यहरुका लागि छलफलको विषय बन्यो ।
पार्टी स्थापनाबाट आजसम्म आउँदा एमालेसँगको विद्रोहको औचित्य पुष्टी भएको अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख भएपनि राजनीतिक कार्यदिशा भने एमालेकै छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद नै रहने भन्ने अध्यक्षको प्रस्तावमा खनालको अनन्तुष्टि छ । राजनीतिक वर्गशत्रु किटान गर्ने विषयमा पनि नेपाल स्पष्ट छैनन् । खनाल भने गठबन्धनको नाममा पार्टीले नेपाली कांग्रेससँग काँध मिलाएर हिँडेकोमा रुष्ट छन् ।
पार्टीको राजनीतिक यात्रामा नेपाल र खनालबिच विगतमा पनि टकराब थियो, यद्यपी यो पटक संस्थागत रुपमै नेताहरु विभाजित छन् । चुनावी गठबन्धनदेखि निर्वाचन परिणाममा असन्तुष्टी जनाएका खनालले कांग्रेस–माओवादीसँगको गठबन्धन तोड्नुपर्ने मत राखेका थिए । यद्यपी अध्यक्ष नेपालले कांग्रेस माओवादीसँगै काँध मिलाएर जाने निर्णय गरेपछि खनालको असन्तुष्टिी चुलिएको हो । केन्द्रीय समिति बैठकले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । नेपाल–खनालको यो असन्तुष्टी महाधिवेशनसम्म नै जाने देखिएको छ । केन्द्रीय समिति बैठकमै राजनीतिक कार्यदिशाम फरक मत राखेका खनालले महाधिवेशनमा आफ्नो फरक मत दर्ज गर्ने निश्चित छ ।
२ वर्षअघि नेकपा एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादी पार्टीको राजनीतिक यात्रा निरन्तर ओरालो लागिरहेको छ । विभाजनकाबेला एमाले छाडेर आएका नेता कार्यकर्ता एकपछि अर्कोगरी एमाले फर्किँदै छन् । एकातर्फ घट्दो जनाधार, अर्कोतर्फ जिम्मेवार नेता कार्यकर्ताकोको बहिर्गमनले पिरोलेको नेकपा एसलाई शिर्ष नेताद्वयको टकराव अझ महंगो पर्ने देखिएको छ ।साभार।
