कांग्रेसले सांसद विकास कोषको बजेट कार्यान्वयनमा सर्वोच्च अदालतले लगाएको रोकप्रति असन्तुष्टि जनाएको छ । विहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो असन्तुष्टि जनाएका हुन् । सर्वोच्चको आदेश न्यायिक सक्रियता भएको र यसले प्रकारान्तरमा संसदीय व्यवस्थालाई कमजोर बनाउने उनको दाबी छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले आ–आफ्नो सीमामा बसेर काम गर्नुपर्ने भन्दै उनले सीमारेखा उल्लंघन गरेर अर्काको सीमामा प्रवेश गर्दा शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने र प्रकारान्तरले लोकतन्त्र कमजोर बनाउने बताए । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय सरकार र प्रदेश सरकारले बजेटमार्फत ल्याएका निर्वाचन क्षेत्रमा बजेट छुट्याउने व्यवस्था कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिएको थियो ।साभार।
