Tuesday, March 18, 2025

अवैध गर्भपतन गराउने र नवजात शिशु बेच्ने डा. कर्णको डरलाग्दो धन्दा

ताजा / भरखरै प्राप्त

विराटनगर । ग्रिनक्रस हस्पिटलबाट हराएको एक दिनको नवजात शिशु कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई बेचेको खुलासा भएको छ । डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) निःसन्तान दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको हो । डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । विवाह भएको एक दशक बितिसक्दा पनि दिलमायाको छोरा सूर्यनारायण राजवंशी दम्पतीको सन्तान भएको थिएन । सन्तान नभएपछि दिलमायाले छोरा बुहारीको लागि डाक्टर कर्णसँग ७ लाखमा नवजात शिशु किनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘डाक्टर कर्णले पाँच लाख रुपैयाँ लिएका छन् । दुई लाख रुपैयाँ हस्पिटलमा उपचारमा खर्च भएको दिलमायाले प्रहरीलाई बयानमा बताएकी छन्।
चिकित्सक बिरामीका लागि भगवान समान हुन् । जस्ले मृत्यु शैय्यामा पुगेको ज्यान फिर्ता ल्याएर नयाँ जीवन दिन्छ । तर, पछिल्लो समय चिकित्सकहरु बिरामीको भगवान होइन नाफा कमाउने कालो व्यापारी बनेका छन् । डा. तपेश्वरलाल कर्णको धन्दा सुन्दै आङ सिरिङ्ग हुन्छ । मंगलबार डा. कर्णलाई प्रहरीले पक्राउ गरेपछि उनको कालो धन्दा सतहमा आयो ।विगतदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशुलाई बिक्री गरेर धन आर्जन गर्दै आएका उनले केही दिनअघि अवैध सम्बन्धबाट जन्मेकी शिशु (छोरी) निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको चाल पाएपछि प्रहरीले उनीसहित शिशुका अविवाहित बाबु (जस्ले शिशु बेचेका थिए) लाई पक्राउ गरेको छ ।भोजपुर हतुवागढी ४ घर भएका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीया युवतीको सम्बन्धबाट जन्मिएको शिशुलाई डा. कर्णले मोरङको काटहरी गाउँपालिका २ आर्दश टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेका थिए । तर, प्रहरीले चाल पाएपछि बच्चा खरिद गर्ने सूर्यनारायण, उनकी पत्नी श्यामवती, आमा दिलमाया र दिदी सुधा राजवंशीलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर राखेको छ ।
असार १४ गते ग्रिनक्रस अस्पतालमा सामान्य रुपमा शिशुको जन्म भएको थियो । त्यहाँका नर्सका अनुसार शिशुको तौल जन्मिदा २ केजी थियो तर, डा. कर्णले शिशुको तौल ९ सय ५० ग्राम मात्र भएको र धरान वा विराट नर्सिङ होममा थप उपचार गर्न लैजाने भन्दै नाम परिवर्तन गराएर बिक्री गरेका थिए ।प्रेमी गोविन्दले उनकी प्रेमिकालाई असार १३ गते ग्रिनक्रस अस्पताल नजिकैको दिपेश मेडिकल क्लिनिकमा डा. कर्णको सल्लाहबमोजिम पुगेका थिए । त्यहाँ लगेर डा. कर्णले युवक र युवती दुवैको नाम र ठेगाना परिवर्तन गराएर क्लिनिककी सहयोगमार्फत अस्पताल भर्ना गराएका थिए । अहिले अस्पतालको रेकर्डमा युवकको नाम मानबहादुर तामाङ र युवतीको नाम फूलकुमारी तामाङ र ठेगाना सुनसरीको रामधुनी ११ भनेर उल्लेख छ । तर, सुनसरीको रामधुनीमा वडा नम्बर ११ नै छैन ।
गर्भवती युवतीलाई अस्पतालमा हुँदा तीनै क्लिनिकबाट डा. कर्णले खटाएकी निरु भनिने निरु यादवले रेखदेख गरेको प्रहरी अनुसन्धान खुलेको छ । अस्पतालका नर्सहरुभन्दा निरु नै बेसी खट्थिन् । औषधि पनि आफै क्लिनिकबाट लिएर आउँथिन् । १४ गते बिहान ८ बजेतिर गर्भवती युवतीको डेलिभरी भयो । निरु आफैँले डेलिभरी गराएकी थिइन् ।डेलिभरीपछि डा. कर्ण अस्पताल आइपुगे । त्यसपछि निरुले शिशुलाई सुधाको हातमा थमाइदिएकी थिइन् । नवजात शिशु लिएर राजवंशी दम्पतीले विराट नर्सिङ होममा लिएर गएका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छन् । नवजात शिशु लिने र बेच्ने डाक्टरलाई अहिले मोरङ प्रहरीमा राखेर अनुसन्धान भइरहेको एसपी दीपक पोखरेलले बताए । ‘डाक्टर कर्णले अरू पनि नवजात शिशु बेचेको घटना आइरहेको छ’ उनले भने, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान सुरु गरेका छौं । कति नवजात शिशुहरू डाक्टर कर्णले बेचेका छन्, त्यसबारे पनि अनुसन्धान गर्दैछौँ ।’
स्त्री रोग विशेषज्ञ कर्णले त्यसअघि अविवाहित बाबु गोविन्दसँग शिशुको व्यवस्थापनका नाममा ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको थियो । कोशी अस्पतालमा झण्डै अढाई दशक स्त्री रोग विभागमा काम गरेर सेवा निवृत्त भएका कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म यो अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट समेत थिए । उनी लामो समयदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ । प्रेमी गोविन्दले प्रेमिकालाई असार १३ विराटनगरको ग्रिनक्रस अस्पताल नजिकै रहेको डा. कर्णको निजी दिपेश मेडिकल क्लिनिकमा लिएर आएका थिए । आफ्नो क्लिनिकमा सुरुवाती परीक्षण गरेर कर्णले ती युवक र युवतीको नाम र ठेगना परिवर्तन गरेर क्लिनिक नजिकको ग्रिनक्रस अस्पतालमा भर्ना गरेर असार १४ गते नर्मल अवस्थामा बच्चीको जन्म गराएर त्यसै दिन युवतीलाई बच्चाबिना नै डिस्चार्ज दिएका थिए । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको नाम फूलकुमारी तामाङ अनि ठेगाना सुनसरीको रामधुनी ११ उल्लेख छ । जवकि रामधुनीमा वडा ११ नै छैन । अस्पतालका नर्सद्वयका अनुसार डा. कर्णले असार १३ गते साँझ ७ बजे क्लिनिककी सहयोगी निर्मला यादव (निरु) मार्फत ती गर्भवती युवतीलाई अस्पताल पठाएर नाम परिवर्तन गराएर भर्ना गराएका थिए । गर्भवती युवतीलाई अस्पतालमा भर्ना गरेपछि निरुले नै उनलाई ब्यथा लाग्ने औषधि चलाएर आफूहरूलाई निगरानी मात्र गर्न र केही परे वा डेलीभरी हुने स्थिति भएमा आफूलाई जानकारी गर्नु भन्दै हिँडेको अनुसन्धानमा खुलेको छ । १४ गते बिहान सवा ७ बजेतिर युवतीको पाठेघरको मुख खुलेर डेलिभरी हुने अवस्था आएपछि निरुलाई हामीले जानकारी गरायौं,’ ती नर्सले भने, ’त्यसपछि निरु दिदी अस्पताल आएर आफैंले ८ बजेतिर डेलिभरी गराइन् । त्यसपछि डा. कर्ण अस्पताल आइपुगे ।’त्यसपछि निरुले शिशुलाई सुधाको हातमा थमाइदिएकी थिइन् । डा. कर्णले डेलिभरी नोटमा बच्चा (छोरी) नर्मल जन्मिएको, तौल कम ९ सय ५० ग्राम मात्र भएको र धरान वा विराट नर्सिङ होममा थप उपचार गर्न लैजाने भन्दै नाम परिवर्तन गरिएका शिशुका बाबु रामबहादुर तामाङले बच्च बुझेको ब्यहोराको कागज नर्सहरूलाई लेख्न लगाएका थिए । डा. कर्णले प्रेम जोडीलाई बच्चाबिना नै डिस्चार्ज दिएर घर पठाएका थिए । उनीहरुका अनुसार शिशुको तौल सवा दुई किलो थियो । ती दुई नर्सले भने डा. कर्णले आफूहरुलाई बच्चाको तौल ९ सय ५० ग्राम मात्र भएको पत्र लेख्न दबाब दिएको बताएका छन् ।साभार।

Previous article
Next article
सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री प्रचण्डवीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् ।समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।” यो बडो दुःखद कुरा हो र यसलाई हामीले गम्भीर रुपमा लिएका प्रधानमन्त्री दाहालको भनाइ छ ।प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्‍याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उनले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको स्पष्ट पारे ।“सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ”, प्रधानमन्त्री दाहालले भने, ‘‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन ।”विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्‍याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पुर्‍याउने उनले बताए ।यसबाहेक सरकारले मधेसमा ठूलो समस्याको रुपमा देखिएको मिटरब्याजी पीडितहरुको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री दाहालले चर्चा गरे। मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उनले निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गरे।मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठूलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै उनले एक दुई दिनभित्रै उक्त निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गरे। मधेसमा सिँचाइ गर्न सुनकोशी–मरिन डाइभर्सनको कामलाई तीव्रता दिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले निजगढ–काठमाडौँ फास्ट ट्रयाकको काम छिट्टै सम्पन्न हुने बताए।लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले तीनवटै ऐन पारित गराइ कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए। संविधान निर्माणका क्रममा आफ्नो पार्टीले केही असहमति राखेर पास गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधानमा रहेको त्रुटि सच्याउन र संविधानलाई व्यवस्थित रुपमा संशोधन गर्न सरकार, सदन र सडक तीनवटै मोर्चाबाट पहल र प्रयास आवश्यक रहेको जिकिर गरे।पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै संविधानको अपब्याख्या गर्ने र सङ्कटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न चार दलीय समाजवादी मोर्चा बनाएको उल्लेख गरे। जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र समृद्धि मुलुक बनाउनु मोर्चाको पहिलो कार्य नीति रहेको उल्लेख गर्दै मोर्चाका अध्यक्षसमेत रहनुभएका अध्यक्ष नेपालले भने, “अब कुनै पनि व्यक्ति दुखित हुन नपरोस्, अपमानित महसुस गर्न नगरोस्, बेरोजगारी नहोस् भन्ने चाहनाका साथ मोर्चा बनाएका छौँ ।” देशमै स्वरोजगारी सिर्जना कामलाई तत्काल अघि बढाउनुपर्नेमा उनको जोड थियो ।वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई मोर्चाको साथ रहने अध्यक्ष नेपालले उद्घोष गरे। वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै उनले सरकारलाई जनताको चाहना, इच्छाअनुसार सुशासन र समृद्धिको यात्रामा अघि बढ्न सुझाव दिए।कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताको संस्थागत गर्दै सफल कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाएर अघि बढेको बताए। बलिदानीबाट प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेकाले त्यसको रक्षाका लागि मोर्चा बनाउनुपरेको उल्लेख गर्दै उनले सङ्घीयता मजबुत बनाउनु र सुशासन कायम गर्नु मोर्चाको लक्ष्य भएको बताए ।मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्दा पनि मधेसी लगायतका उत्पीडित वर्ग, समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको गुनासो उल्लेख गर्दै उहाँले समावेशिताको नाममा केवल बाध्यात्मक कुरालाई मात्र कार्यान्वयन गरिँदै आएको दाबी गरे।मधेसको विकासविना मुलुकको विकास सम्भव नभएको जिकिर गर्दै अध्यक्ष यादवले मधेसमा सञ्चालित योजना समयमा सम्पन्न नहुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको बताए।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपाली विशेषतायुक्त समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यका साथ मोर्चा बनाएको बताउँदै दलाल पुँजीवादले मुलुकलाई निकास दिन नसक्ने भएकाले त्यसका विरुद्ध समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको दाबी गरे।नेपालको मौलिकता र संस्कृतिमाथि भूमण्डलीकृत साम्राज्यवादी शक्तिहरुबाट हमला भइरहेको जिकिर गर्दै उनले मुलुकलाई सङ्कटबाट मुक्ति दिलाउन र जनताको चाहना, इच्छा पूरा गर्न आफूहरुले मोर्चा बनाएको चर्चा गरे।कार्यक्रममा जसपाका नेता तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले सङ्घीयताको कार्यान्वयन भए पनि प्रदेश सरकारले अझै संविधान प्रदत्त अधिकार पाउन नसकेको गुनासो गर्दै तत्काल प्रदेश सरकारलाई संविधाले दिएको अधिकार हस्तान्तरण गर्नुपर्ने बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles