Monday, March 17, 2025

प्याज आयात सहज भइसक्दा पनि रोकिएन कालोबजारी, मनलाग्दी मूल्य

ताजा / भरखरै प्राप्त

सुश्मिता वानियाँ
भारतले शनिवार मुल्यवृद्धि नियन्त्रण गर्न भन्दै प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने घोषणा गरेपछि नेपालमा केही दिन प्याजको हाहाकार भयो । नेपाल र भारतमा परेको सार्वजनिक विदाका कारण केही दिन आयात रोकिदाँ अभाव भएको प्याज अहिले सामान्य भइसकेको छ । तर मूल्यवृद्धि भने आम उपभोक्ताको ढाड सेकिने गरि बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १ गते १ सय ७ टन, २ गते ८४ टन र ३ गते ४५ टन प्याज आयात भएको थियो । तर, चार र पाँच गते प्याज आयात भएन । दुईदिन प्याज आयात नहुँदा आयात भईसकेका प्याजमा पनि ४० प्रतिशतभन्दा बढीले एक रातमै मुल्यवृद्धि भयो भने पाँच र छ गते अर्थात मङगलबार र बुधबार कालीमाटी बजारमा प्याज अभाव भयो । प्याज अभावको कारण भारतले बढाएको भन्सार कर मात्रै नभएर नेपाल र भारतको सार्वजनिक विदाको दिन लगायतका कारणले गर्दा आयात हुन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार बुधबारबाट प्याज आयात सुरु भईसकेको छ । बुधबार र बिहिबार गरि करिब २ सय ७० टन प्याज आयात भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउछन ।
श्रेष्ठले भने जस्तो अहिले कालीमाटी बजारमा प्याजको अवस्था त सामान्य छ तर, मुल्यवृद्धि भने बढेको बढ्यै छ । व्यवसायीहरुले आफू अनुसारको मुल्य तोकेका छन । समितिले बिहिबार भारतीय सुकेको प्याजको प्रतिकिलो औसत मुल्य ७७ रुपैयाँ तोकेको छ । तर, उपभोक्ताहरु प्रतिकिलो ८५ रुपैयाँ देखि एक सय रुपैयाँसम्म दिएर प्याज खरिद गर्न बाध्य छन् । तर उपभोक्ता अधिकारकर्मीका अनुसार भारतले बढाएको निर्यात कर जोड्दा नेपालमा हालको मूल्यमा १० देखि १३ रुपैयासम्म मात्रै बढ्नेछ ।
भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लाग्ने घोषण गरेसँगै नेपाली बजारमा आयत भईसकेको प्याजमा नै मुल्यवृद्धि भएको थियो । शनिबार होलसेलमा प्याजको मूल्य प्रतिकिलो ६० देखि ६५ रुपैयाँ थियो भने खुद्रा मूल्य ७० देखि ७५ रुपैयाँ थियो । सो मुल्य आइतबार होलसेलमा खरिद मूल्य ८० रुपैयाँ परेको थियो भने खुद्रामा बिक्री गर्दा ९० देखि एक सय रुपैयाँसम्म पुगेको थियो । जबकी, आइतबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको तथ्यांक अनुसार प्याजको मूल्य प्रतिकिलो ६० देखि ६२ रुपैयाँ थियो । व्यापारीले मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लगातार बजार अनुगमन गरिरहेको छ ।
यसअघि नेपाल सरकारले चालू वर्षको बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको थियो । त्यसलगत्तै आकासिएको बजार भाउ अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । बजेट भाषणको अघिल्लो दिन अर्थात जेठ १४ मा खुद्रा मूल्यमा प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ । भन्सार विभागको तथ्याङक अनुसार ०७९÷०८० मा १८ करोड एक लाख केजी अर्थात ६ अर्ब रुपैयाँको प्याज भारतबाट आयात भएको थियो । चालू वर्षको पहिलो महिना अर्थात साउनमा १ करोड ३४ लाख ७७ केजी अर्थात ५५ करोड २२ लाख बढीको प्याज आयात भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालको कञ्चनपुरदेखि झापासम्मको औसत २० हजार २ सय ५१ हेक्टरमा जमिनमा करिब ३ लाख टन प्याज उत्पादन हुने गरेको छ । जुन नेपालको मागको ५ प्रतिशतमात्रै हो ।साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles