चेक बाउन्सको केसमा प्रहरीले अब रकम दिने व्यक्तिको स्रोत पनि खोज्न सुरु गरेको छ।प्रहरीको अनुसन्धानमा पैसा दिएको रकम कहाँबाट आएको हो? बैंकिङ च्यानलबाट हो वा होइन भन्ने छुटाउनको लागि चेक लिने व्यक्तिको रकमको स्रोत समेत खोज्न थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले बताए।
‘बाउन्सको केसमा शंकास्पद रकम समेत देखियो। त्यसैले दिने र लिनेको कारोबारमा स्रोत पुग्छ कि पुग्दैन भनेर हेर्न पनि भनेका छौं, ‘ उनले भने।यसअघि प्रहरीमा चेक बाउन्सको उजुरी परेपछि लिने र दिनेलाई रकम तिर्न समय दिइन्थ्यो। त्यसपछि मात्र चेक दिने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरिएको थियो। अब भने चेकमा भएको रकम पाउने व्यक्तिले स्रोत खुल्ने विवरण पेस गर्नुपर्ने हुन्छ।
त्यस्तै अब चेक बाउन्सको केसमा प्रहरी थप आक्रामक बन्ने भएको छ। हाल मिटर ब्याज सम्बन्धी कारोबारमा समेत चेक बनाएर दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। यसरी अनुचित कारोबारलाई नियन्त्रण गर्न पनि चेक बाउन्समा कारोबारको स्रोत खोज्न थालिएको हो।प्रहरीले १० लाख रुपैयाँ माथिका चेकमा कडाइका साथ स्रोत हेर्न थालेको हो। प्रहरी कहाँ २० हजारदेखि ५ करोड रुपैयाँसम्मका चेक बाउन्सका उजुरी पर्ने गरेका छन्।
हाल खाली चेक काटेर दिने (चेक बाउन्स) ह्वात्तै बढेर गएको छ। एक वर्षको अवधिमा देशभर ४७ अर्ब ५० करोड २६ लाख ६८ हजार ७ सय ७९ रुपैयाँ बराबरको खाली चेक दिएको पाइएको छ। गत आर्थिक वर्षमा नेपाल प्रहरीले चेक बाउन्सका १२ हजार ३० वटा मुद्दा सरकारी वकिल मार्फत अदालतमा बुझाएको छ।
