Friday, March 14, 2025

कसैलाई काखा पाखा नगर्ने : सांसद किसान श्रेष्ठबारा । पूर्व मन्त्री तथा बारा ४ का सङ्घीय सांसद किसान श्रेष्ठले आफू बारा ४ नं क्षेत्रका सबै जनताको साझा जनप्रतिनिधि भएकोले कसैलाई काखा पाखा नगर्ने बताएका छन् । साना किसान कृषि सहकारी संस्था सिमराको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रममा बोल्दै सङ्घीय सांसद श्रेष्ठले मङ्सिर ४ अघि तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कलम चिन्ह लिएर उम्मेदवार भए पनि मङ्सिर ४ पछि सबैको साझा जनप्रतिनिधि भएको बताएका छन् ।‘मङ्सिर ४ गते पछि म बारा ४ नं क्षेत्रको सबै जनताको साझा जनप्रतिनिधि हुँ, कसैलाई काखा पाखा गर्ने यो टोल बाट मलाई भोट आयो यो सहकारीबाट भोट आएन भनेर पक्षपात गर्दिन’ सङ्घीय सांसद श्रेष्ठले भने ‘जनताको माया, भरोसा विश्वासलाई टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउँदछु’

ताजा / भरखरै प्राप्त

पूर्व मन्त्री श्रेष्ठले सबै काम जादुको छडीजस्तो नभए पनि बारा ४ मा विकासको सुरुवात भएको बताएका छन् । ‘दुरुसंञ्चारदेखि औराहा जाने बाटो,सिमरा विमानस्थल जाने बाटो, गढीमाईदेखि चिनी मिलसम्म जाने बाटो,फेटा, विश्रामपुर गाउँपालिका सहित धेरै ठाउँमा विकासका काम भएका छन्’ पूर्व मन्त्री श्रेष्ठले भने ‘म निर्वाचित भएको १ वर्ष पनि पुगेको छैन तपाईहरुले मलाई ५ वर्षको लागि विश्वास गर्नुभएको छ त्यसले मैले मेरो दिमाग र बुद्धिले भ्याएसम्म यो क्षेत्रको विकासको लागि यहाँका जनप्रतिनिधिहरू,मेयर,उपमेयर वडाध्यक्षहरू प्रदेश सभाका सदस्य सबैसँग हातेमालो गर्दै म काम गर्न तयार छु’

पूर्व मन्त्री श्रेष्ठले देशको आर्थिक अवस्था धराशायी भएर सहकारीहरू भागाभाग हुँदै गएको अवस्थामा साना किसान कृषि सहकारीले सेयर सदस्यहरूलाई १४ प्रतिशत लाभांश वितरण गर्नु प्रशंसायोग्य काम भएको बताएका छन् । साना किसान कृषि सहकारी संस्थाको शुक्रवार भएको अधिवेशनले कमलाकुमारी रिमालको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा लक्ष्मी बस्नेत, उपाध्यक्षमा श्यामा सापकोटा,सचिवमा मिरा पुरी,कोषाध्यक्षमा पुनमदेवी महतो र सदस्यहरूमा केशव थापा,अरिविन्द साह, इन्दिरा दाहाल,कोपिला लामिछाने,सुमित्रा ढकाल,ज्योति शर्मा,लक्ष्मी पाण्डे र पार्वती भुजेल रहेका छन् ।
करिब २ हजार सेयर सदस्य रहेको साना किसान कृषि सहकारी संस्थाको २०७९-०८० मा १ करोड ६७ लाख ६२ हजार २ सय शेयर पुँजी, ३ करोड ९४ लाख ४१ हजार बचत रकम सङ्कलन रहेको छ । संस्थाले सेयर सदस्यहरूमा १६ करोड २२ लाख ऋण लगानी गरेको छ चालु आर्थिक वर्षमा संस्थाले ७३ लाख ४७ हजार नाफा आर्जन गरेको छ । संस्थाले सेयर सदस्यहरूलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको अध्यक्ष कमलाकुमारी रिमालले जनाएकी छिन् ।
करिब ९० प्रतिशत महिला सेयर सदस्य रहेको संस्थाले वार्षिकोत्सवको अवसरमा महिलाहरूको महान् पर्व हरितालिका तिजको शुभकामना आदानप्रदान तथा नाचगान कार्यक्रम समेत गरेको थियो । हरितालिका तिजको अवसरमा सङ्घीय सांसद श्रेष्ठले आफू जनताको सुख दुखको सारथि भएकोले बारा ४ जनताले बोलाएको हरेक ठाउँमा पुग्ने बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles