नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको ४ दिनपछि आज जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्न लागिएको छ । सीआईबीले पक्राउ परेका २५ र फरार ४ गरी २९ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
सरकारी वकिल कार्यालयले यो संख्या तलमाथि गरेर मुद्दा दायर गर्ने सम्भावना रहेको बताइएको छ । उक्त काण्डमा ८ चिनियाँसहित ३२ जना हिरासतमा छन् भने तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले राय दिएको छ ।
अवैध सुन तस्करीका सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । यस प्रकरणमा सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अध्ययन सकेर आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिने कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिएका छन्. ।
आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्रबैंक ऐन, नेपाल नागरिकता ऐन र राहदानी ऐन, अध्यागमन ऐनअनुसार कारबाही चलाउन माग गरेको सीआईबीले पूरक अनुसन्धान भने जारी राखेको छ । सातवटा कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेको छ तर अहिले सीआईबीले रेडी ट्रेड प्रालिबाट भएको तस्करीको मात्रै अनुसन्धान सकाएको हो ।
अवैध रूपमा सुन तस्करीको आरोपमा पक्राउ परेका ५ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भएको विषयमा पनि सीआईबीले अनुसन्धान गरिरहेको छ । नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर नेपाली नागरिकताबारे अनुसन्धान भइरहेको छ !

