पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्ने जानकारी दिए । “बिलमा नवलपरासी ‘बर्दघाट–सुस्तापश्चिम’ प्रतापपुरको सुजु एण्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ । त्यहाँ उल्लेख गरे अनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन”, उनले भने, “भारतबाट अवैध रूपमा भित्रिएको हुनसक्छ ।” अवैध रूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन् ।
लु ३ च १७९४ नम्बर गाडीमार्फत ‘आइस’मा राखेको माछा काठमाडौंतर्फ लैजान लागिएको थियो । जाँचको क्रममा प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रमुख गौतमले जानकारी दिए । सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उनले बताए । “भौतिकरूपमा हेर्दा माछामा गन्ध आएको छ”, उनले भने, “अवैध र गन्ध आएपछि नष्ट गरेका हौँ ।” अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए । नष्ट गरेको माछाको बजार मूल्य रु तीन लाख २० हजारसम्म रहेको गौतमले जानकारी दिए । तर बिलमा रु एक लाख ६० हजारमात्र लेखिएको छ ।
मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैधरूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताए । उनले १० महिनाको अवधिमा चितवनमा मात्रै चारपटक अवैध रूपमा भित्र्याइएको माछा नष्ट गरिएको जानकारी दिए ।
बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २ ९ख० अनुसार नियमअनुसार विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । माछामा आत्मनिर्भर चितवनबाट विभिन्न जिल्लामा माछा निर्यातसमेत हुने गरेको छ । यहाँ करिब पन्ध्र सय किसानले माछा पाल्ने गरेको व्यवसायी सङ्घले जनाएको छ !
