चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो । प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक आज घोषणा भएको हो ।
प्रधानमन्त्री २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्रीले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।
२३ देखि ३० सेप्टेम्बरसम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरु रहनेछन् ।
प्रधाानमन्त्रीसँग व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने छ । प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नेछन् । परराष्ट्रका अनुसार बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री
प्रचण्ड
