वीरगंज महानगरपालिकाको आयोजनामा वीरगंजकाे आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको र्यालीले वीरगंज बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिए । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्ने काम नगर्न उनले सुझाव दिए ।
उनले भने, ‘हामी वीरगंजबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।’ पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाँड्ने तत्वहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
हिन्दु, मुस्लिमबीच द्वन्द गराउने खालका गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ती कायम गर्ने भएको धारणा राखे ।
नेकपा एमाले पर्साका संयोजक डा. बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याई कारवाही गर्न उनले ध्यानाकर्षण पनि गराए ।
सोही अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाइएको छ ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारवाही गर्नुपर्ने जिकिर गरे । साथै उनले गृहमन्त्रालयमा विज्ञप्ती पठाएर सुरक्षा निकायलाई परिपत्र गर्ने आश्वासन पनि दिए ।
र्यालीमा जसपाका प्रमुख सचेतकसमेत रहेका सांसद यादव, मेयर सिंहसँगै उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगंज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगरका अध्यक्ष मनोज चौधरी, विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्ता, कर्मचारी, मानवअधिकारकर्मी लगायत वीरगंजबासीकाे सहभागिता रहेको थियो ।
