मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जितनेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।२०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । उक्त रेकर्ड मंगोलियाविरुद्धको खेलमा नेपालले ब्रेक गरेको हो ।नेपाली ब्याटर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कीर्तिमानी जित दर्ता गरेको हो ।यो खेलमा नेपालले ३१४ रनको कीर्तिमानी स्कोर बनाएको थियो ।३४ बलमा शताब्दी रन हानेर कीर्तीमानी बनाएका मल्लले ५० बल खेल्दै १३७ रन बनाए भने ९ बलमा ५० रन हानेर कीर्तीमान बनाएका ऐरीले १० बल खेल्दै ५२ रन बनाए ।यस्तै नेपालका क्याप्टेन रोहित पौडेलले २७ बलमा ६१ रनको योगदान गरे । ओपनरद्वय कुसल भुर्तेलले १९ र आसफ शेखे १६ रन बनाए ।नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । मंगोलियाका दभासुरेनले २ चौका मद्दतमा १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् । तर, अतिरिक्तबाट मात्रै मंगोलियाले २३ रन पाएको थियो ।मंगोलियालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २/२ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।समूह चरणको अर्को खेल नेपाल र माल्दिभ्सबीच १ अक्टोबरमा हुनेछ ।