अवैध लागूऔषधसहित तीन जना पक्राउमोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेटसहित सोही नगरपालिका-९ बस्ने ५० वर्षीय मित्र बहादुर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।सप्तरी, सुरुङ्गा नगरपालिका-३ भुसिमलहनियाबाट अवैध लागूऔषध गाँजा करिब १५ केजीसहित सिरहा लहान नगरपालिका-१७ एकरतिया बस्ने ५८ वर्षीय बद्रि नारायण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले बद्रिलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।झापा, दमक नगरपालिका-३ गुरुङ डाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने बस्तु ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय उमेश गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।