यस्तै, कोशी राजमार्गको गुठीटार खण्डमा चार वर्षअघि भत्किएको दुई सय मिटर सडक अझै मर्मत हुन सकेको छैन । धनकुटा-हिले खण्डको १३ किलोमिटरमध्ये करिब ६० प्रतिशत सडक मर्मत गर्नुपर्ने अवस्थामा छ । यो सडक मर्मतका लागि डिभिजन सडक कार्यालय धनकुटाले एक करोड ५० लाख रुपैयाँमा ठेक्का खोले पनि काम सुरु हुन सकेको छैन ।
‘बर्खा सकिएपछि काम हुन्छ । लगत्तै दसैं भएर हो । त्यसपछि काम सुरु हुन्छ,’ डिभिजन सडक कार्यालय धनकुटाका इन्जिनियर सन्तोष साहले भने ।
यता, पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने बीपी राजमार्गको खाल्डाखुल्डीको अवस्था उस्तै छ । धुलिखेलदेखि बर्दिबाससम्मको १६० किलोमिटर खण्डका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक बगाएकाले अझै पनि एकतर्फी यातायात सञ्चालनमा छ ।
चीनसँगको उत्तरी तातोपानी नाकाबाट दसैं-तिहारलक्षित सामान भित्रिने क्रम बढे पनि मितेरी पुलदेखि बाह्रबीसेसम्मको २६ किलोमिटरको सडक जीर्ण छ । दुईतर्फी नाका सञ्चालनले जति उत्साह छाएको छ त्योभन्दा बढी तातोपानीसम्मको सडकले व्यवसायी निराश हुनुपर्ने अवस्था छ ।
‘दुई देशबीचको नाकामा हुनुपर्ने काम राज्यबाट हुन नसकेको अवस्था छ,’ भोटेकोशी चेम्बर अफ कमर्स सिन्धुपाल्चोकका अध्यक्ष फुनु शेर्पाले भने, ‘अहिले यहाँको सडकको अवस्था दयनीय छ ।’केही दिनअघि बेनी-जोमसोम सडक खण्डको पहिरो पन्छाएर यातायात सहज बनाए पनि पछिल्लो वर्षाले सडक फेरि उस्तै बनेको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डमा पर्ने सिद्धबाबा, झुम्सा, पानीमिल, हिउँदेखोला, २४ माइल, कालीमाटी, धैरेनी, सेरालगायत स्थानमा पनि सडक जीर्ण छन् । ‘चाडपर्व सुरु भइसकेको छ । तर अहिले पनि सडकमा खाल्डाखुल्डीहरु छन् । पहिरो पनि हटेका छैनन्,’ पाल्पाका कृष्णबहादुर विष्टले भने, ‘यसले गर्दा हामी यात्रु र गाडी चलाउने चालकहरुलाई पनि असुविधा भइराखेको छ ।’
सम्बन्धित निकायले सडकमा खसेका पहिरो हटाइदिने, खाल्डाखुल्डी पुरिदिने गरेको भए दुर्घटना न्यूनीकरण हुने र ट्राफिक व्यवस्थापनमा पनि सहज हुने ट्राफिक प्रहरी तिलबहादुर खत्रीको भनाइ छ ।कर्णाली प्रदेशका रत्न, कर्णाली, सुर्खेत-दैलेख, छिन्चु-जाजरकोट र छिन्चु-पुरन्धारा राजमार्गको मर्मत बल्ल सुरु भएको छ । पहिरोले कर्णाली राजमार्गका ५० भन्दा धेरै ठाउँमा झरेको पहिरो डिभिजन सडक कार्यालयले पन्छाएर यातायात सञ्चालन गरिरहेको जनाएको छ ।
उता सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्गको मर्मतसम्भारका नाममा बर्सेनि करोडौं खर्च हुने गरे पनि मर्मत एक महिनाभन्दा बढी टिक्ने गरेको छैन । त्यसमाथि साँघुरा सडकले दुर्घटनाको जोखिम बढ्न थालेको छ ।
‘हाम्रा आवश्यकताहरु बढ्दै गएका छन्, जनताका चाहनाहरु बढ्दै गएका छन् । त्यसैले अरु मार्गहरुलाई पनि हामीले छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भने ।
यस्तै वर्षाका कारण आफूहरुले काम गर्न नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीको भनाइ छ । उनी भन्छन्, ‘वर्षातका कारण हामीले काम गर्न सकेनौं ।’
सडक र सवारीसाधनको खराब अवस्था दुर्घटनाको प्रमुख कारण हो । त्यसमाथि चाडबाडका बेला सवारीसाधन र यात्रुको चाप बढी हुने भएकाले यस्ता सडकको यात्रा सधैं जोखिमपूर्ण हुने गरेको छ ।



