Tuesday, September 16, 2025

१० महिनामा दोलखाबाट मात्रै आएको थियो तस्करीको ३९ किलो सुनआलुको बोरामा राखेर ल्याइन्थ्यो काठमाडौंसम्म

ताजा / भरखरै प्राप्त

युनिक श्रेष्ठ
काठमाडौं, दोलखाको फलेक नाकाबाट मात्रै गत १० महिनामा ३९ किलो सुन तस्करी भएको छ।बिगु गाउँपालिका-१ बाट बरामद भएको ११ किलो सुनको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय दोलखाले संयुक्त रूपमा गरिरहेको छ। ११ किलो सुन तस्करी गर्ने समूहले गत मंसिरयता ३९ किलो सुन तस्करी गरिसकेको अनुसन्धानबाट खुलेको छ।यस प्रकरणको अनुसन्धान प्रहरीले संगठित अपराध कसुरअन्तर्गत गरिरहेको छ। जसमा प्रहरीले अहिलेसम्म ११ जनालाई पक्राउ गरिसकेको छ।सुन तस्करी गर्न तिब्बती समूह सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।उनीहरूले तिब्बतबाट काठमाडौंसम्म ल्याएर सुन बेच्ने गरेको प्रहरी स्रोतले बतायो।

अहिलेसम्म मुख्य व्यक्ति आगर लामा भन्ने व्यक्ति देखिएका छन्। चीनको सिचुवान घर भएका लामा काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्थे। उनी तासी र दावा नामबाट पनि परिचित छन्।
सिआइबीको टोलीले बुधबार उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि उनलाई दोलखा पठाइएको छ।
यस्तै अर्का चिनियाँ ग्याङ रू, बिगुकै ५५ वर्षीय नुर्वु छिरिङ शेर्पाको पनि प्रमुख भूमिका देखिएको छ। उनीहरूकै लगानी समेत भएको प्रहरी अधिकारीहरू बताउँछन्। जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काका अनुसार उनीहरूले फलेक नाकाबाट तस्करी गरेको देखिन्छ।
तिब्बत र दोलखा सीमानामा खोला छ। चीन तर्फबाट आगर लामाका आफन्तहरूले खोला किनारसम्म सुन ल्याउने गर्थे।
यताबाट नुर्वु छिरिङले पनि भरियाहरू खटाएको देखिन्छ। उता तिब्बतीले सुनका इट्टा डोरीमा बाँधेर फालेर खोला कटाउने गरेको डिएसपी खड्काले बताए।
‘तिब्बतको फलेक नाका भन्ने छ। यता नेपालबाट सिमानासम्म भरिया जाने। उनीहरूको सिमानासम्म उनीहरूका मान्छे आउने गर्छन्। बीचमा खोला छ। उताबाट सुन डोरीमा बाँधेर यतासम्म फाल्ने रहेछन्,’ उनले भने।त्यसरी फालेपछि सुन काठमाडौंसम्म पुर्‍याउन विभिन्न लेयरमा मान्छेहरू खटाइएको पनि प्रहरीले जनाएको छ।
‘उनीहरूले लेयर बनाएर काम गरेका छन्। उता सीमानादेखि चरिकोटसम्म ल्याउने एउटा। चरिकोटबाट काठमाडौं लग्ने एउटा,’ उनले भने, ‘काठमाडौंबाट पनि मेन मान्छेसम्‍म लग्ने एउटा र त्यसपछि बजारसम्म लग्ने अर्को। किन्ने अर्को छ। एकले अर्कालाई नचिन्ने हिसाबले काम गरिरहेका थिए।’
प्रहरी स्रोतका अनुसार सुन काठमाडौंसम्म आलुको बोरामा बसको सिटमुनि राखेर ल्याउने गर्थे। पछिल्लो पटक खोला किनारमा ११ किलो सुन लिन बिगु-१का १९ वर्षीय पेम्बा तामाङ गएका थिए।
उनले सुन लिएसँगै आलुको बोरामा बोकेर चरिकोट लग्दै थिए। तर उनले सुन आलुको बोरामा ल्याउँदै गरेको भन्ने सूचना गाउँमा थाहा भयो।
कसैले उक्त सूचना २८ वर्षीय केशर तामाङ र उनको समूहले पाएको थियो। केशर र पेम्‍बा एकै गाउँका हुन्।
सुन ल्याउँदै गरेको थाहा पाएर केशर लगायतले पेम्बालाई फकाएर चिया खुवाउने भन्दै लगेका थिए। ‘उनीहरूले पेम्बालाई फकाइफुल्याई गर्न थाले। चिया खान जाउँ भनेर। फकाएर चिया खुवाउन लग्दा अर्कैले आलुको बोरा टिपेर लगिसकेका थिए,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘चिया खाएर फर्किँदासम्म आलुको बोरा हराइसकेको थियो। त्यसपछि उनले नुर्वुलाई भनेका थिए।’
सुन लुटिएको भन्ने जानकारी पाएपछि गाउँमा हल्लाखल्ला भएको थियो। यता लुट्ने समूहले पनि सुन भागबन्डा समेत लगाइसकेका थिए। अहिले लुट्ने समूहका दुई जना अझै फरार छन्। गाउँमा हल्लाखल्ला भएपछि प्रहरीले असोज १० गते चार किलो सुन बरामद गरेको हो।
सुन बरामद भएसँगै प्रहरीले पेम्बा तामाङ, केशर तामाङ, २० वर्षीय माधव मगर, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ, ३२ वर्षीय चस्मान (छिरिङ) तामाङ र एक नाबालकलाई पक्राउ गरेको थियो।
पेम्बा तामाङजस्ता भरियाले एक किलो सुन बोकेबापत् ६ हजार पाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यतिबेला ११ किलो सुन बोकेबापत् उनले ६६ हजार पाएका थिए।गत मंगलबार काठमाडौंबाट चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङलाई पक्राउ गरेको थियो। उनीहरूले आलुको बोरामा सुन राखेर ल्याई सुन व्यावसायीहरूलाई बेचे पनि किन्ने व्यापारीहरू भने पक्राउ परिसकेका छैनन्। पछिल्लो पटक ब्रेक शुमार्फत भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणसँग सम्बन्धित नभएको पनि सिआइबीले जनाएको छ। यद्यपि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles