उहाँले सुरक्षा कार्य अत्यन्तै संवेदनशिल र गहन विषय भएको हुँदा बढ्दै
गएको नविनतम सुरक्षा चुनौतीहरुसँगै सुरक्षा फौजको कामकारवाहीहरुमा समेत
इन्फरर्मेसन र मोविलिटीको तालमेल हुनुपर्ने कुरालाई मध्यनजर राख्दै
प्रशिक्षण कार्यलाई समयानुकल थप आधुनिकीकरण र बैज्ञानिक ढंगले अगाडी
बढाउँदै लैजानु पर्ने बताउनुभयो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको
क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण
सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने
बताउनुहुँदै प्रधानमन्त्रीज्यूको गरिमामय समुपस्थिति तथा निर्देशनले
सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र
मनोवल उच्च भएको बताउनुभयो ।
उहाँले देश र जनताको सेवा, सुरक्षामा कटिवद्ध भई लाग्ने अभिप्रायले
संगठनमा प्रवेश गरी दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका
अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै तालिममा हासिल गरेका सैद्धान्तिक
एवं व्यवहारिक ज्ञानलाई पेशागत जीवनमा अक्षरस पालना गरी कार्यसम्पादनमा
जुट्न निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरु
विशेषतः सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व संकलन र विपद्
व्यवस्थापनमा महत्वपूर्ण भूमिका लगायत विशिष्ट व्यक्ति तथा महत्वपूर्ण
प्रतिष्ठानको सुरक्षा, औद्योगिक र रेलवे सुरक्षामा समेत उत्कृष्ट ढंगले
कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुभयो ।
समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई
सपथ ग्रहण गराउनु भएको थियो ।
करीव ५६ हप्ता अवधिको उक्त आधारभूत तालिम ५ जना महिलासहित कुल ४९ जना
सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिममा
कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुली, शारिरीक
सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक पुष्कर बहादुर बम र चाँदमारीतर्फ
सशस्त्र प्रहरी निरीक्षक एजन खड्का उत्कृष्ट भएका छन् ।
दीक्षान्त समारोहमा नेपाली सेनाका रथी, निमित्त प्रहरी प्रमुख, निमित्त
मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु,
चन्द्रागिरी नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु
लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल,
नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत
उपस्थिति रहेको थियो ।

