Thursday, October 23, 2025

कवाडी सामान निकासीमा कर, विरोधमा व्यवसायी

ताजा / भरखरै प्राप्त

भरतपुर– भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन्। देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ। व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए।
सङ्घका अध्यक्ष शङ्करबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधानविपरीत कर उठाउन लागेको जनाउँदै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताए। उनले भने, ‘कर उठानका लागि महानगरपालिकाले बोलपत्र आह्वानको सूचना निकालेको छ, त्यस प्रक्रियामा हाम्रो असहमति रहेको छ।’
खत्रीले महानगरपालिको बोलपत्रको प्रक्रिया रोकेर स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न अनुरोध गरे। उनले आफूहरु सिधै महानगरपालिकालाई कर तिर्न तयार रहेको जानकारी दिए।
अध्यक्ष खत्रीले व्यवसायीसँग महानगरपालिकाले समन्वय नगरेको र छलफलसमेत गर्न नमानेको गुनासो गरे व्यवसायीले गत बिहीबार उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए। तर उपप्रमुख अधिकारीले व्यवसायीका कुरा नसुनेको सचिव पुरन मल्ल ठकुरीले बताए। यही अवस्थामा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीहरुले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको बताएका छन्। कवाडीजन्य वस्तु निकासी गर्दा ठाउँठाउँमा कर लिने गरिएका कारण हैरानी व्यहोर्नुपरेको व्यवसायीहरुको गुनासो छ।
संविधानले कुनै पनि वस्तुको स्वरुप परिवर्तन नभएसम्म एउटै खालको कर दोहोराएर लिन नपाइने व्यवस्था रहेको सङ्घले जनाएको छ। भरतपुर महानगरपालिकामा करिब ७५ व्यवसायीले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुको व्यवसाय गर्दै आएका छन्। महानगरभित्र करिब १ हजार ५०० जना यो व्यवसायमा प्रत्यक्ष जोडिएका छन्।
घर–घर पुगेर साइकलमा कवाडी सामान सङ्कलन गर्नेको सङ्ख्या चितवन जिल्लाभरमा करिब ४ हजार ५०० छ। उनीहरूले सङ्कलन गरेका फलाम, तामा, पित्तल, बोतल, सिसा, प्लास्टिक, कागज, पुराना जुत्ता, चप्पललगायतका सामान पुनःउपयोगका लागि उद्योगमा पठाइन्छ। धेरैजसो समान भारत पठाइने गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार महानगरपालिकाको क्षेत्राधिकारभित्र उत्पादन हुने कवाडीजन्य वस्तुमा कर लगाउन खोजिएको हो।
कवाडी सामानमा प्रतिगोटा तथा प्रतिकेजी निश्चित कर लगाउने गरी ठेक्का आह्वान गरिएपछि व्यवसायीले विरोध गरेका हुन्। भरतपुर महानगरपालिका गत भदौ २४ गते कर सङ्कलनका लागि २ वर्षको ठेक्का आह्वान गरेको थियो।राससl

Previous article
हत्या गरेको अभियोगमा पक्राउ:-पर्सा, वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने भारत विहार सितामढी नरहा ग्राम घर भएकी ४० वर्षीया पुनम देबीको हत्या गरेको अभियोगमा सोही महानगरपालिका-१ छप्कैया बस्ने २५ वर्षीय ईमरान मियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।आफ्नै कोठामा सुतेको अवस्थामा टाउकोमा चोट लागी गम्भीर अवस्थामा शुक्रबार बिहान फेला परेकी पुनमको नारायणी अस्पताल हुँदै नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा पुनमको हत्यामा मियाको संलग्नता रहेको खुल्न आएपछि प्रहरीले पक्राउ गरेको हो । उक्त दिन लागूऔषध प्रयोग गर्नको लागि चोरी गर्ने उद्देश्यले पुनमको घरभित्र प्रवेश गर्दा पुनम चिच्याएपछि फलामको छड प्रहार गरी भागेको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।कञ्चनपुर, पुनर्वास नगरपालिका-११ भिमबस्ती बस्ने ४६ वर्षीय जसविर धामीको कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीचको विवादमा ती किशोरले कोदालो प्रहार गर्दा जसविरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले घटनामा संलग्न किशोरलाई पक्राउ गरेको हो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles