सरकारले हिंसाग्रस्त इजरायलमा रहेका नेपाली नागरिकको उद्धार र मृतक विद्यार्थीको शव स्वदेश ल्याउन नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ पठाउन लागेको छ । गत शनिबार इजरायलमाथि भएको प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमण र त्यसपछि उत्पन्न युद्धका कारण अप्ठेरोमा परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज आजराति त्यसतर्फ जान लागेको हो । राति ११ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायलका लागि उड्ने बताइएको छ ।
यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमान पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुसँग सोधपुछ गर्नुभएको थियो । पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक नेपाल उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर उहाँले तत्काल जहाज पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । हमास आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । अरु केही नेपाली घाइते छन् । तीन सयभन्दा बढीले तत्काल स्वदेश फर्कन चाहेको तेलअभिभस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् ।
