प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेमा सुवासचन्द्र बोहरालाई पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाइएको छ ।
यसअघि बाँकेमा सन्तोषसिंह राठौर र सर्लाहीमा नरेशराज सुवेदी प्रहरी प्रमुख थिए । सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा धार्मिक विषयलाई लिएर तनाव सिर्जना हुँदा प्रशासनले कर्फ्यू आदेश समेत जारी गर्नुपरेको थियो ।
सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि असोज १६ बाट बाँकेमा लगातार कफ्र्यू लगाइएको थियो । हिन्दु र मुस्लिम समुदायबिच तनाव सिर्जना भएपछि नेपालगञ्ज क्षेत्रमा सुरुवाती दिनमा नै स्थानीय प्रशासनले सेनाको सहयोग लिएको थियो ।
सर्लाहीमा पनि हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो । हिन्दु र मुस्लिम समुदायको बिचमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा दुवै जिल्लाका प्रजिअ र एसपीले ‘कार्यकुशलता देखाउन नसकेको’ विश्लेषण गरिएको थियो ।
