प्रहरीले काठमाडौंको जगडोलबाट ७ राउन्ड गोली र पेस्तोलसहित एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।गोकर्णेश्वर नगरपालिका ३, जगडोलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटेराको समूह आएको खबर पाएपछि नियन्त्रणका लागि पुगेको थियो । टोलीमाथि लुटेरा समूहले नै आक्रमणको प्रयास थाल्दा प्रतिकारमा गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको हो । साथै टोलीले थप दुई जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका २ घर भएका ३६ वर्षीय अमर घलानको दाहिने घुँडामुनि एउटा र तिघ्रामा एउटा गरी दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । प्रहरीले घलानलाई उपचारका लागि तत्काल नेसनल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि भर्ना गरिएको छ ।यस्तै अपराध अनुसन्धान टोलीले सर्लाहीका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोकका ३० वर्षीय जितेन लामालाई दुईवटा मोटरसाइकलसहित पक्राउ गरेको छ । घटनास्थलबाट फरार रहेका अन्यको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

