Saturday, October 18, 2025

सुरक्षा चुनौती बढिरहेका बेला तीनवटै सुरक्षा प्रमुख देशबाहिर

ताजा / भरखरै प्राप्त

मुलुकमा विभिन्न प्रकारमा आन्दोलन चलिरहेका बेला तीन वटा सुरक्षा अङ्गका प्रमुख भने देशबाहिर रहेका छन् ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख देशबाहिर रहेका हुन् । अहिले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर बेलायतमा छन् । त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भने अमेरिका पुगेका छन् ।

बेलायतमा रहँदा प्रधानसेनापति शर्माले बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग र बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डरसँग भेटवार्ता गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।साथै उनले त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने कार्यक्रम रहेको छ । गत आइतबार बेलायत प्रस्थान गरेका प्रधानसेनापति शर्मा आउँदो शनिवार स्वदेश फर्किने कार्यक्रम छ । प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कार्यभार सम्हालिरहेका छन् ।प्रधानसेनापति बेलायत जानु एक दिनअघि नेपाल प्रहरीका आइजिपी कुँवर बेलायत प्रस्थान गरेका थिए । गत शनिवार आइजिपी कुँवर बेलायत सरकारको निमन्त्रणामा सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।
नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदान प्रदान गरिने छ ।साथै त्यस्ता चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ ।त्यसैगरी बेलायत प्रहरी, प्रहरी इकाइ आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम रहेको छ । आइजिपी कुँवरसँगै डिआइजी विष्णुकुमार केसी र दुई एसएसपी पनि बेलायत पुगेका छन् ।
आइजिपी कुँवरले एआईजी टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका थिए । तर, निमित्त प्रहरी प्रमुख राई पनि गत मङ्गलवार अमेरिका प्रस्थान गरिसकेका छन् ।सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने चिफ अफ पुलिस कन्फरेन्समा सहभागी हुन एआईजी राईसहितको तीन सदस्यीय टोली अमेरिका गएका हुन् ।टोलीमा राईसहित डीआईजीद्वय दुर्गा सिंह र केदार ढकाल छन् । राईको अनुपस्थितिमा निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दिपक थापाले सम्हाल्ने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यसैगरी शस्त्र प्रहरी महानिरीक्षक अर्याल पनि अक्टोबर १४ देखि १७ सम्म अमेरिकाको सान डिएगोमा सञ्चालन हुन गइरहेको प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अमेरिका पुगेका छन् ।सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको साथ सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी पनि रहेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने छन् ।
दुई साताअघि संसदीय समितिमा प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले पहिचान पक्षधरको आन्दोलनका कारण अत्यधिक सुरक्षा चुनौती रहेको रिपोर्टिङ गरेका थिए । साथै उनीहरू मुलुकमा धार्मिक अतिवाद फैलिएको विश्लेषण गर्दे त्यसबाट सचेत हुनुपर्ने बताएका थिए ।त्यस्तै चाडपर्व आएको चाडपर्वको सुरक्षालाई समेत ध्यान दिनुपर्ने अवस्थामा सुरक्षा अङ्गका प्रमुख र उच्च अधिकारीहरू विदेश पुगेका हुन् ।
दृष्टि

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles