Friday, April 24, 2026

आममाफी पाएको २५ दिनमै लोकेन्द्र भनिने लोकबहादुर विकले महिलाको हत्या गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ९ सिम्लीका ३३ वर्षीय लोकबहादुर विकले मंगलबार मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना विकको खलंगाको सत्कार होटेलमा हत्या गरेको प्रहरीको भनाइ छ ।

ताजा / भरखरै प्राप्त

प्रहरीले विकलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी बहुविवाहको मुद्दामा दोषी करार भएका र आधाभन्दा बढी कैद भुक्तान गरेपछि गत ३ असोजमा संविधान दिवसका अवसरमा कारागारमुक्त भएका थिए । उनी बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए । तर, ६ महिना कैद भुक्तान गर्दै गत ३ असोजमा संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा भएपछि उनी रिहा भएका थिए ।

आगामी १९ माघमा कैदमुक्त हुनुपर्ने उनलाई सात महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो । कैद भुक्तान गर्न तीन महिना २३ दिन बाँकी रहँदै कैदमुक्त भएका लोकहादुरले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन् ।

मंगलबार बिहान खलंगाको सत्कार होटेलको १ नम्बर कोठामा भावनाको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । “उनीहरूबीचको कल डिटेल र होटेलमा कोठा लिँदा उल्लेख गरेको मोबाइल नम्बरबाट लोकबहादुरको घटनामा संलग्नता खुलेको हो,” डिएसपी भट्टराईले भने ।

लोकबहादुरले भावनाको हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । विवाद बढ्दै गएपछि भावनाको छातीमा प्रहार गरेको र उनी लडेपछि चक्कुले गला रेटेको उनले बयान दिएका छन् । चक्कुसमेत साथैमा रहेका कारण हत्या पूर्वयोजनाअनुसार नै भएको देखिएको डिएसपी भट्टराईको भनाइ थियो । प्रहरीका अनुसार भावना र लोकबहादुर २८ असोजमा होटेलको कोठा लिएर बसेको र २९ गते बिहान १० देखि ११ बजेको बीचमा हत्या घटना भएको देखिएको छ । लोकबहादुर साढे ११ बजे होटेलबाट निस्किएर बाल मन्दिर हुँदै कालिकास्थानबाट बाहिरिएको सिसिटिभी फुटेजबाट देखिएको प्रहरीले जनाएको छ । भावनाले होटेलमा कोठा लिएको र त्यसमा आफ्नो श्रीमान् भनी विकास केसीको नाम उल्लेख गरेको, तर नम्बर भने लोकबहादुरको राखेकी थिइन् । नाम झुटो लेखे पनि मोबाइल नम्बर भने सत्य उल्लेख गरेको डिएसपी भट्टराईले बताए ।
साभार।

नयाँ सन्देश

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles