रामलखनका बुवा ६ वर्षअघि बिते, दुई वर्षअघि आमाले पनि छाडिन्। आमा–बाबु नहुँदा उनलाई स्याहार गर्ने, विद्यालय पठाउने कोही भएन। घरमा उनका दुई दाइ छन्। तर, मजदुरी गर्न जाने दाइहरू साँझमा खानेकुरा लिएर आए भने रामलखनको गाँसको जोहो हुन्छ, नभए भोकै रात कटाउँछन्। दाइले घरमा चामल ल्याइहालेछन् भने पनि दाउरा खोज्न रामलखन नै जानुपर्छ।
आमा वितेपछि पढाइ छोडेका रामलखनलाई एक जना शिक्षकले कापीकलम किनिदिएर विद्यालय भर्ना गराएका थिए। भर्ना गर्नुअघि लिइएको प्रवेश परीक्षाले उनलाई कक्षा–४ मा झार्यो। “पहिले अलिक टाठा थिए, अहिले सबै बिर्सिएछन्” प्रधानाध्यापक सतिशमणि त्रिपाठीले भने, “दुई वर्ष स्कूल छोडेका कारण धेरै कुरा बिर्सिसकेका रहेछन्, त्यसैले कक्षा–४ मा भर्ना गर्यौं।”
अहिले विद्यालयमा भर्ना भए पनि भोको पेटले उनको पढाइमा बाधा पुर्याएको छ। रामलखनलाई नियमित विद्यालय ल्याउन उनको गाँस–बासको समेत व्यवस्था गरिनु जरूरी रहेको प्रधानाध्यापक त्रिपाठीको बुझाइ छ।
रूपन्देहीको मायादेवी गाउँपालिका–५ भैसहवाका शिवा लोध (८ वर्ष) विद्यालय किन नगएको भनेर सोध्दा शुरूमा उनका हजुरबुवा हरेराम लोधले भने– “मै केह जानी!”
केहीबेरपछि उनले शिवाले स्कूल छोड्नुको बेलिबिस्तार लगाए। हरेरामका अनुसार विद्यालय पुर्याउँदा पटक–पटक भागेर शिवा घर फर्किने गरेपछि अहिले उनको शिक्षा बेवास्तामा परेको छ। सात जनाको लोध परिवारमा साउँ अक्षर खुट्याउन सक्ने कोही छैन। शिवाका बुवा भारतमा मजदुरी गर्छन्।
गाउँमै खेलेर दिन बिताउने शिवाका उनी जस्तै अरू दुई साथी छन्– किसान (१०) र रक्ष कहार (१२) दाजुभाइ। रक्ष चार वर्षअघि एक साता विद्यालय गएका रहेछन्। कक्षा–३ मा भर्ना भएका किसान पनि दाइ र शिवाकै बाटोमा छन्। विद्यालय जान मान्दैनन्, न त परिवारले नै जोडबल गरेको छ। रक्ष र किसानकी दिदी रूपा पनि विद्यालय जान पाएकी छैनन्। “कापीकलम किन्ने पैसा थिएन, भर्ना नै भइनँ नि” रूपाले भनिन्, “भाइहरूले पढिदिउन् भन्ने लाग्छ तर, उनीहरू स्कूल जानै मान्दैनन्।”
रूपन्देहीको मायादेवी गाउँपालिकासँग विद्यालय बाहिर रहेका बालबालिकाको यकिन तथ्यांक छैन। तर शैक्षिक सत्र २०७९ मा उक्त पालिकामा कक्षा १–८ सम्मको विद्यार्थी संख्या ११ हजार ९६० छ। त्यसमध्ये ०.५७ प्रतिशत अर्थात् ६८ जनाले विद्यालय छाडेकोे शिक्षा शाखाका प्राविधिक सहायक मधुसूदन बेल्बासे बताउँछन्।
कपिलवस्तुको मायादेवी–२ भरवलिया गाउँमा पुग्दा सातवर्षे प्रिन्स बढई दिउँसो गुच्चा खेलिरहेका थिए। विद्यालय टाढा भएकाले जान नसकेको उनले सुनाए।
निजी विद्यालयको बस घर नजिकै आउने भए पनि त्यहाँको शुल्क तिर्ने बढई परिवारको हैसियत छैन। सामुदायिक विद्यालय पुग्न साना बालबालिकाका लागि करिब एक घण्टा लाग्छ। सात जनाको यो परिवारमा जेठी र माइली छोरीले कक्षा–८ सम्म पढेका छन्। साइँली (१०) र कान्छी (९) ले नेपाल सिएलएस परियोजना अन्तर्गत अनौपचारिक विद्यालयको कक्षा–४ र ५ मा पढ्छन्। अनौपचारिक विद्यालयमा परिवारका दुई जनाले मात्रै पढ्न पाउने भएपछि प्रिन्सले पढ्न पाएनन्। प्रिन्सकी आमा र जेठी दिदीले बुवा महेशले छोराको पढाइमा चासो नदिएको बताए। एउटै कोठामा गुजारा चलाइरहेको यो परिवारलाई बिहान–बेलुकाको हातमुख जोड्नै धौ–धौ छ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले गरेको सर्वेक्षण अनुसार गाउँपालिकाभर आधारभूत शिक्षा पूरा नगर्ने ५–२० वर्ष उमेर समूहका मात्रै ४५७ जना छन्। त्यसमध्ये ७८ जना ५ देखि १२ वर्ष उमेर समूहका विद्यालय जाँदैनन्। उनीहरूमध्ये ३३ जना विद्यालय भर्ना नै भएका छैनन् भने बीचमै विद्यालय छोडेका ४५ जना छन्।
वडा नं. २ मा पर्ने गाउँपालिका अध्यक्ष वलिउद्दीन मुसलमानकोे गाउँ भरवलियामा सोधपुछ गर्दा मात्रै १२ वर्ष मुनिका २१ जना बालबालिका स्कूल नगएका भेटिए। स्थानीय बासिन्दा गाउँपालिकाको तथ्यांकभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको बताउँछन्।
मायादेवी गाउँपालिका र विद्यालय शिक्षामा काम गर्ने सनसाइन सामाजिक संस्था ले गरेको अध्ययन अनुसार बालबालिका विद्यालय नजानुको प्रमुख कारण परिवारको कमजोर आर्थिक अवस्था नै हो। त्यसबाहेक विद्यालय टाढा हुनु, घरको काम गर्नुपर्ने, चेतनाको कमी र अपांगता जस्ता कारण पनि छन्।
भर्ना, टिकाउ दर र स्कूल छाड्ने अवस्था
नेपालमा बालबालिका विद्यालय भर्ना नहुने मात्र होइन, विद्यालयमा नटिक्ने समस्या पनि धेरै छ। सरकारी तथ्यांक अनुसार अहिले पनि ३.१ प्रतिशत बालबालिका विद्यालय बाहिर छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७८ को तथ्यांक अनुसार कक्षा–१ मा ४.४, कक्षा–२ मा ३, कक्षा–३ मा २.४, कक्षा–५ मा २.१, कक्षा–६ मा २.५, कक्षा–७ मा ३.९ र कक्षा–८ मा ३.७ प्रतिशतले विद्यालय छाडेका छन्।