
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ । बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो
। ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ । काठमान्डुले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ । काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ ।काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो ।लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मदतमा सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४ रन
जोडे ।
सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश कँडेलले किफायती बलिङ गर्दै ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिएको हो ।
जेरार्ड एरासमसले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । रासिद खानले १ विकेट लिए । शाहब आलमले विकेट नलिएपनि किफायती बलिङ गर्दै ४ ओभरमा १० रन मात्र खर्चिए ।
त्यसअघि कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।काठमान्डुका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए ।
यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन
बनाएका थिए ।
बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।
रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए ।
सूर्य तामाङ र विवेक यादवले समान १ विकेट झारेका छन् ।


