मिति : २०८१।०९।२०
नेपाल भ्यूज अनलाइनका उपसम्पादक श्यामसुन्दर पुडासैनीको उपचारको क्रममा चाबहिलस्थित हेल्पिङ ह्याण्डस अस्पतालमा ३३ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।
कार्यालयको काम सकाएर कपनमा रहेको कोठामा पुगेको केहीबेरमै ढलेपछि छिमेकीको सहयोगले अस्पताल पुर्याइएका पुडासैनीको उपचारकै क्रममा शुक्रबार राति १०ः३० बजे निधन भएको हो ।
नुवाकोटमा स्थायी घर भएका पुडासैनीले रेडियो नुवाकोट एफएममार्फत पत्रकारिता सुरु गर्नुभएको थियो । झण्डै एक दशकदेखि पत्रकारितामा सक्रिय पुडासैनीले यस दौरान काठमाडौंमा रही माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ ।
महासंघ स्वर्गीय पुडासैनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव ।