जिल्ला प्रहरी परिसर काठमाडौँले चालु आर्थिक वर्षको हालसम्म एक हजार ५४८ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको काठमाडौँ प्रहरीले पुस महिनाको हालसम्म मात्र पाँच सय २५ जनालाई पक्राउ गरेको छ । बिहीबार मात्र ६२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका
सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी
दिएका छन् ।
काठमाडौँ प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ४८, कात्तिकमा एक सय तीन र मङ्सिर महिनामा दुई सय आठ जना फरार प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
फैसला कार्यान्वयनअन्तर्गत पक्राउ परेकाहरूलाई प्रहरीले अदालत पेस गर्ने र अदालतबाट कारागार चलान हुने गरेको छ । विभिन्न कसुरमा अदालतले दोषी ठहर गरी फरार भएका उनीहरूविरूद्ध रू चार करोड ८० लाख ११ हजार दुई सय ९९ जरिवाना र एक सय ३२ वर्ष एक महिना २३ दिन कैद फैसला भएको बताइएको छ ।