लहान: कृषि विकास बैंक, लहान शाखाले कर्मचारीहरूको मिलेमतोमा राम चन्द्र यादव नामक किसानको दुई करोड पचपन्न लाख रुपैयाँको मूल्यांकन गरिएको जग्गा मात्र ४० लाख रुपैयाँमा लिलामी गरेको घटनाले मधेसभरि आक्रोश पैदा गरेको छ।
गरिब किसानको मेहनतको जग्गा जबर्जस्ती लिलामी गरिएको घटनापछि लहानमा किसान आन्दोलन उग्र रूप लिएको छ। आन्दोलनमा सहभागी किसानहरूले मधेसका राजनीतिक दलहरूलाई गम्भीर प्रश्न उठाउँदै आरोप लगाएका छन् कि किसानको नाममा राजनीति गर्ने दलहरू अहिले मौन बसिरहेका छन्।
किसानहरूको आक्रोश यसतर्फ केन्द्रित छ कि मधेसका राजनीतिक दलहरू चुनावका बेला किसानको भोटका लागि अनेक प्रलोभन दिन्छन् तर जब किसान समस्यामा परेका हुन्छन्, उनीहरूको आवाज सुन्न कोही पनि अगाडि आउँदैन। आन्दोलनमा सहभागीहरूले भने, “मधेसका नेताहरूले किसानका समस्या हेर्न आँखा पुरेकाजस्तै व्यवहार गरेका छन्।”
यसै घटनामा लहानका केही व्यापारीहरूलाई समेत संलग्नताको आरोप लगाइएको छ। आन्दोलनकारीहरूले भने, “गरिब किसानको आवाज दबाउन स्थानीय व्यापारी र बैंकको मिलेमतो भएको छ। यो अन्याय हो।”
आन्दोलनले लहानमा व्यापक जनसमर्थन पाइरहेको छ। किसानहरूले मधेसका राजनीतिक दलहरूप्रति चेतावनी दिँदै भनेका छन्, “हामीलाई देखावटी सहयोग चाहिँदैन। यदि तपाईँहरू किसानका पक्षमा हुनुहुन्छ भने खुलेर समर्थन गर्नुहोस्। नत्र आउँदो २०८४ को निर्वाचनमा मधेसका किसानहरूले जवाफ दिनेछन्।”
मधेसमा किसानको आन्दोलनले राजनीति मात्र होइन, सामाजिक र आर्थिक विषयलाई समेत गहिरो रूपमा प्रभावित गर्ने सम्भावना देखिएको छ। यो मुद्दामा मधेसका राजनीतिक दलहरूले अब के प्रतिक्रिया दिनेछन्, त्यसले किसान आन्दोलनलाई थप प्रभावकारी बनाउने वा दबाउने भन्ने निर्भर हुनेछ।
(रिपोर्ट: भोगेन्द्र कुमार यादव)