मुख्य बजारका सटरहरू भांडामा भन्दै लेखिएका छन् । पसल गरेकाहरूको व्यवसाय पनि राम्रोसँग चल्न सकिरहेको छैन । भांडा तिर्न धौ धौको अवस्थामा छन् । होटल ,लज र गेष्टहाउसहरूको अवस्था त्यस्तै छ। कल कारखाना र उद्योग धन्दाको अवस्था पनि दयनीय छ। यो यथार्थ सबैलाई जानकारी भएको कुरा हो । तर यति हुदाहुदै पनि नेपालगन्ज बसपार्कमा प्रहरीले सानोतिनो व्यापार व्यवसाय गरेर बालबच्चा पालेर जिविको पार्जन गरेका साना व्यवसायीलाई साह्रै दुख मात्रै दिएको छैन कि हरेक महिना पैसा नदिए अनेकौं दुख दिने गरेको छ।
यहाँ बसपार्क प्रहरी प्रमुखको रूपमा असई सुनिल शाही प्रमुख रहेका छन् । हामीले थाहा पाए अनुसार उनको दरबन्दी संचार अर्थात उनी प्राविधिक रहेछन् । उनको दरबन्दी इलाका प्रहरी कार्यालय नरैनापुर रहेछ । संचार दरबन्दी भएको प्रहरीलाई प्रशासन तर्फ खटाउन नपाइने व्यवस्था प्रहरीमा रहेको छ । तर असई शाहीलाई एसपी तुल बहादुर कार्कीले उनलाई प्राबिधिक हुदाहुदै पनि प्रशासन तर्फ त्यसमाथि बसपार्क जस्तो धेरै अतिरिक्त कमाई हुने ठाउँमा पठाएका छन् ।
एसपी कार्की डिएसपी भएर इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको प्रमुख हुदा सुनिल शाही उनको आर्थिक कारोबार हेर्ने घुमुवाको रूपमा परिचालन भएका रहेछन् । त्यही सम्बन्ध र कारोबारका कारण एसपी कार्कीले शाहीलाई बांकेमा आएपछि बांके प्रहरीको लागि भन्सार भनेर चिनिने बसपार्कको प्रमुख बनाएर पठाएका रहेछन् । एसपी कार्कीको पहिले घुमुवा त्यही सम्बन्धको कारण नजिक भए पछि बसपार्कको प्रमुख बन्न पाएका असई शाहीलाई कसले छुने । अहिले यहाँ उनको असुलीले आंतक नै मच्चाएको छ ।
बसपार्क प्रहरी मातहत दुईवटा क्यासिनो रहेका छन् । यी दुबै क्यासिनोमा खुलेयाम नेपालीहरू प्रवेश गरेका हुन्छन् । नेपालीहरू प्रवेश गराउन सहजीकरण गरेवापत क्यासिनो संचालकहरूले बसपार्क प्रहरी , वडा प्रहरी , जिल्ला प्रहरी प्रमुख मात्रै नभएर प्रदेश प्रहरी प्रमुखलाई समेत मासिक पदिय हैसियत अनुसारको रकम बुझाउंदै आएका छन् । यसभन्दा अघि सम्मका डिआइजीहरूले क्यासिनोको पैसा उठाउन छुट्टै सई दर्जाका घुमुवा खटाउने गरेका थिए भने एक जना डिआइजीले त नेपालगन्ज स्थित डिआइजी कार्यालयको क्वाटरमा क्यासिनोका मालिक वा जिएमलाई प्रत्यक्ष भेटघाट गरेर रकम लिने काम गर्दै आएका थिए ।
क्यासिनोका अलवा बसपार्क क्षेत्रमा तीनवटा दोहोरी रेष्टुरेन्ट , ६ वटा मसाज तथा स्पा रहेका छन् ।
यी दोहोरी र मसाज केन्द्र प्रहरीको राम्रो रकम असुली गर्ने ठाउँहरू हुन । यसका अलवा मनकामना र रारा नामका दुईवटा ट्रान्सपोर्ट पनि प्रहरीको दुहुनो गाई हो । यसका साथै ७ वटा यातायात कम्पनीबाट पनि प्रहरीले महिनावारी असुली गरिरहेको हुन्छ । यो कुरा यातायात व्यवसायीहरू नै खुलेयाम बताउँछन् । त्यतिमात्र होइन बसपार्क प्रहरीको मातहत ९ वटा कटेज , होटल , लज र गेष्टहाउसहरू पनि रहेका छन् । यी मध्ये केही कटेज , लज , होटल र गेष्टहाउसमा युवतीहरू राखेर गलत धन्दा हुने गरेको यहाँ सबैलाई थाहा छ र मागेको जति वा भनेको बेलामा पैसा नपाए त्यही प्रहरीले जिल्लासंग समन्वय गरेर छापा हानेको नाटक पनि गर्छ। पैसा त सबैसंग प्रहरीले उठाउंछ नै , गलत धन्दा गर्नेहरूबाट मोटो रकम उठाउंदै आएको छ। गलत काम गर्नलाई कारबाही गर्ने हो प्रहरीले तर यहाँ त गलत गर्नेहरूबाट उल्टो बसपार्क प्रहरीले ठूलो रकम उठाई रहेको छ ।
प्रहरीको असुली र ज्याजतीबारे स्थानीय व्यवसायीले जिल्ला प्रहरी प्रमुखलाई बारम्बार जानकारी गराए पनि कुनै सुनुवाइ भने भएको छैन । नयाँ डिआइजीका रूपमा आएका दानबहादुर कार्कीले यसतर्फ चासो देलान् कि ?
प्रहरीद्वारा पीडित नेपालगन्ज बसपार्कका व्यवसायीहरू ।
साभार ।